जनता टाइम्स

१८ असार २०८२, बुधबार २२:२४

दलको मिटिङमा बोलेको कुरा कसैले नसुन्ने भए पछि संसद् बैठकमा नै बोल्नु पर्‍यो :  पूर्णबहादुर तामाङ 


रामेछाप, १८ असार । रामेछापबाट निर्वाचित प्रतिनिधि समा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले रामेछापमा पर्याप्त बजेट नपरेको कारण अति चित्त दुखेर प्रतिनिधि सभा बैठकमा कडा भनाइ राखेको बताउनुभएको छ ।

बुधबार समसामयिक विषयमा मन्थलीमा पत्रकार सम्मेलन आयोजना गरी तामाङले आफूले जाने र वा नजानेर केही गल्ती भएको हुनसक्ने बताउँदै उहाँले हाउसमा पार्टीको दलको बैठकमा बोल्नु पर्ने कुरा पनि बोलेको बताउनुभयो । आफ्नो कुरा सुनुवाइ नभएपछि सबैलाई सुनाउन प्रतिनिधि सभामा बोलेका उहाँको भनाइ छ ।

तामाङले रामेछापलाई बजेट नहालेको भन्दै दुईवटा उपप्रधानमन्त्रीलाई आउने निर्वाचनमा प्रतिनिधि सभामा देख्न नपरोस् भन्दै भगवान् बुद्धसँग प्रतिनिधि सभाबाटै प्रार्थना गर्नुभएको थियो । त्यसको सामाजिक सञ्जालमा प्रशंसा भएको छ भने पार्टी भित्र आलोचना भएको छ । ‘मैले दलको मिटिङमा बोल्नु पर्ने कुरा थियो, तर दलको मिटिङमा भनेर कसैले नसुन्ने भयो, पत्रकारज्यूहरूले देशभरका दाजुभाइ दिदी बहिनीले नसुन्ने भयो, मैलो यो अन्याय सहन नसकेर हाउसमा बोलेको हुँ’, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस रामेछापका सभापति समेत रहनुभएका तामाङले आफ्नो जिल्लामा बजेट पार्न नसक्दा आफूलाई निक्कै अप्ठेरो भएको बताउनुभयो   ‘मैले बाचा गरेको विकासका एजेन्डा कार्यान्वयन गर्न बजेट ल्याउन सकिन, त्यसमा माफी चाहन्छु’, उहाँले भन्नुभयो ।

तामाङले रामेछापको समग्र विकासका लागि आफू गम्भीर भएर लागे पनि संघीय र प्रदेश सरकारबाट आफ्नो जिल्लालाई प्राथमिकतामा नराखिएको गुनासो गर्नुभयो । संघीय सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘रामेछापका लागि ८४ करोड’ बजेट तथ्यहीन रहेको उहाँको दाबी छ । सो मन्त्रालय अन्तर्गत छुट्याइएको धेरै बजेट पुरानो कामको भुक्तानीको लागि छुट्याइएको उहाँको भनाइ छ ।

आफू रामेछापको लागि बजेट विनियोजन नहुँदासम्म चुप लागेर नबस्ने बताउनुभयो । आउने वर्षको लागि पनि आफू लडी रहने उहाँले सुनाउनुभयो । ‘मैले जिल्लाको विकासका लागि कुरा उठाउँदा के गल्ती गरेँ ? मैले केही गल्ती गरे जस्तो लाग्दैन’, उहाँले भन्नुभयो ।

तामाङले आफू विकासको राजनीतिमा विश्वास गर्ने नेता भएको बताउँदै  विकास बजेटमा भएको विभेदको विषयमा चुप नलाग्ने बताउनुभयो । आफू सांसद भएर यी विषय उठाउन नसक्ने हो भने जनताका बिचमा गरेको प्रतिबद्धता पुरा गर्न नसक्ने उहाँको भनाइ छ । त्यसैले आफूले सरकारलाई खबरदारी गरेको तामाङले सुनाउनुभयो ।