काठमाडौं, मंसिर २ । चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर–२ मा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न इलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।
चितवनको जितमा कामिल मिशाराले कीर्तिमानी शतकीय पारी खेले । उनले ५३ बलमा शतक पूरा गर्दै १२० रनमा अविजित रहेपछि चितवनले काठमाण्डुलाई २०५ रनको विशाल लक्ष्य दिएको थियो ।
यो जितसँगै चितवनले फाइनल प्रवेशका लागि भाेलि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित काठमान्डु भने प्रतियोगिताबाट बाहिरिएको छ ।
२०५ रनको लक्ष्य पछ्याएको काठमाण्डु निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।
काठमाण्डुले सुरुवातदेखि नै लगातार विकेट गुमायो । दोस्रो ओभरको सुरुवातमै ओपनर साहिल पटेल ६ बलमा २ रन जोडेर आउट भए । उनलाई रिजन ढकालले पभेलियनको बाटो देखाए ।
चौथो ओभरमा विलियम बोसिस्टोले लगातार तीन बाउन्ड्री प्रहार गर्दै चितवनका बलर सलाहुद्दिन खानमाथि दबाब सिर्जना गरे । तर, काठमाण्डुले ४.५ ओभरमा दोस्रो विकेट गुमायो । रिजन ढकालले नै साम हिजलेटलाई ३ रनमा आउट गराउँदै चितवनलाई दोस्रो सफलता दिलाए ।
पावरप्लेमा दुई विकेट गुमाएको काठमान्डुले ३६ रनमात्रै बनाउन सक्यो । एकातिरबाट बोसिस्टोले आक्रामक ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनलाई उसामा मीरले आउट गराए । बोसिस्टोले २८ बलमा ३७ रन बनाए ।
त्यसपछि राशिद खान १५ बलमा १२ रन जोड्दै आउट भए । पाँचौँ नम्बरमा आएका सहान अराच्चिगेले १३ बलमा २४ रन बनाए पनि उनको विकेट पतनसँगै काठमान्डु थप दबाबमा पर्यो ।
कप्तान करण केसीको ब्याटिङ पनि चल्न सकेन । उनले ८ बलमा १ रनमात्रै बनाए । त्यसपछि आएका जहानदाद खान पनि १ रनमै आउट भए । भीम सार्कीले दशौँ नम्बरमा ब्याटिङ गर्दै अविजित ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै एक्लैले चार विकेट लिए । उसामा मीरले तीन विकेट हात पार्दा कुशल मल्ल र सलाहुद्दिन खानले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०४ रनको विशाल योगफल तयार पारेको थियो ।
चितवनको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा देव खनाल १५ बलमा १७ रन बनाएर आउट भए । काठमाण्डुका कप्तान करण केसीले पहिलो बलमै खनाललाई आउट गराउँदै सफलता दिलाए । त्यसलगत्तै दोस्रो बलमै करणले डेविड मलानलाई खाता खोल्न नदिई पभेलियन फर्काए ।
पावरप्लेमा दुई विकेट गुमाएको चितवनले ३४ रन बनाएको थियो । त्यसपछि कामिल मिशारा र रवि बोपाराले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए ।
आठौँ ओभरमा मिशाराले जीवनदान पाए । काठमान्डुका विलियम बोसिस्टोले उनको क्याच छाडे । त्यसको भरपूर फाइदा उठाउँदै मिशाराले आक्रामक ब्याटिङलाई निरन्तरता दिए ।
३३ बलमा अर्धशतक पूरा गरेका मिशाराले त्यसपछि थप आक्रामक रूप देखाए । १४औँ ओभरमा सोनु देवकोटालाई लगातार तीन बलमा तीन छक्का प्रहार गर्दै उनले काठमाण्डुको बलिङ आक्रमणलाई दबाबमा पारे ।
मिशाराले ५३ बलमा शतक पूरा गरे । यससँगै उनी एनपीएल इतिहासमा शतक प्रहार गर्ने पाँचौँ खेलाडी बने । यसअघि एन्ड्रीस गोउस, मार्क वाट, आडम रोसिङ्टन र युवराज सामराले शतक बनाएका थिए ।
मिशाराले १२० रनमा अविजित रहँदै एनपीएल इतिहासकै उच्च व्यक्तिगत स्कोरको कीर्तिमानसमेत आफ्नो नाममा लेखाए । उनले गत सिजन कर्णाली याक्सका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध बनाएको अविजित ११४ रनको कीर्तिमान तोडे ।
चितवनका कप्तान रवि बोपाराले पनि उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ५३ रन बनाए । मिशारा र बोपाराको महत्वपूर्ण साझेदारीकै कारण चितवनले २०४ रनको चुनौतीपूर्ण योगफल तयार पार्न सफल भयो ।
काठमाण्डुका लागि करण केसी र राशिद खानले समान दुई–दुई विकेट लिए ।
कीर्तिमानी शतक, सशक्त बलिङ र सामूहिक प्रदर्शनका आधारमा चितवनले काठमाण्डुलाई सहजै पाखा लगाउँदै प्रतियोगिताको अन्तिम चारबाट फाइनल प्रवेशको सम्भावना कायम राखेको छ । अब चितवनको लक्ष्य बुधबार सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि भिडन्तमा स्थान बनाउनु हुनेछ ।












प्रतिक्रिया दिनुहोस्