जनता टाइम्स

२ मंसिर २०८३, बुधबार १९:२०

जनतासँग संवाद गर्न नसक्दा एमालेको जनाधार कमजोर भयो : शंकर पोखरेल


काठमाडौं, मंसिर २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न अभियान सञ्चालन गरे पनि पार्टीले जनतासँग प्रभावकारी संवाद गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले वडा केन्द्रित, जरा केन्द्रित र ग्रासरुट अभियान सञ्चालन भए पनि ती अभियान जनतासँग जोडिन नसकेको बताउनुभयो ।

पार्टीका अभियानहरू औपचारिकता र देखावटी गतिविधिमा सीमित हुँदा जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसकिएको उहाँको भनाइ छ । जनतासँगको संवाद टुटेकै कारण निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकिएको उहाँले स्वीकार गर्नुभयो ।

जनताको जनाधार फर्काउन उनीहरूका समस्या पहिचान गर्ने र समाधानका लागि नेतृत्व लिनुपर्नेमा उहाँले जोड दिनुभयो । आगामी निर्वाचनमा पनि पुरानै शैली अपनाए अपेक्षित परिणाम आउन नसक्ने उहाँको चेतावनी छ ।

पोखरेलले आगामी निर्वाचनका लागि स्थानीय राजनीतिक शक्ति सन्तुलनको वैज्ञानिक विश्लेषण गर्नुपर्ने बताउनुभयो । विगतका निर्वाचन परिणाम, विपक्षी दलको संगठनात्मक अवस्था, जनप्रभाव र स्थानीय मुद्दाको अध्ययन गरेर बलिया तथा कमजोर क्षेत्र पहिचान गर्नुपर्ने उहाँको भनाइ छ ।

उम्मेदवार छनोटमा नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले कार्यकर्तालाई आफैँ उम्मेदवार छनोट गर्न र जिताउने जिम्मेवारी लिन आग्रह गर्नुभयो ।

उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुमानभन्दा जनमत सर्वेक्षण र व्यापक सुझावका आधारमा वैज्ञानिक प्रणाली विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, निर्वाचनमा पार्टीका सबै तहका कमिटी र सदस्यलाई सक्रिय परिचालन गर्न, अनुगमन संयन्त्र बनाउन तथा परम्परागत प्रचारसँगै डिजिटल प्रचारलाई प्राथमिकता दिनुपर्ने पोखरेलको प्रस्ताव छ ।