काठमाडौं, मंसिर २ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी विभाजन रोक्न अन्तिम समयसम्म प्रयास गरे पनि सफल हुन नसकेको बताउनुभएको छ ।
कञ्चनपुरमा आयोजित इतर पक्षको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले पार्टी एकता कायम राख्न दुवै पक्षलाई अधिवेशन प्रक्रिया स्थगित गरेर संवादमा आउन आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताउनुभयो ।
वडादेखि केन्द्रसम्मका अधिवेशन रोक्दै सहमतिको वातावरण बनाउन आफूहरूले प्रस्ताव गरेको उहाँको भनाइ छ । तर, अर्को पक्षले केन्द्रीय महाधिवेशन सम्पन्न गरी सभापति, पदाधिकारी र केन्द्रीय कार्यसमिति चयन गरिसकेपछि आफूहरू छुट्टै संगठन निर्माण गर्न बाध्य भएको उहाँले बताउनुभयो ।
लेखकले आफूहरू पार्टीभित्रको अन्यायविरुद्ध संघर्ष गर्दै वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने संगठन निर्माणमा जुटेको दाबी गर्नुभयो ।
उहाँका अनुसार वडा, स्थानीय तह, प्रदेशसभा तथा संघीय निर्वाचन क्षेत्र हुँदै संगठन विस्तार गरिएको छ । जिल्ला अधिवेशनपछि सातै प्रदेशमा प्रदेश अधिवेशन गर्ने र मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।
पार्टी विभाजनको अवस्थामा निर्वाचन गर्दा थप कटुता र वैमनस्यता बढ्न सक्ने भएकाले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिएको पनि उहाँले बताउनुभयो ।
सङ्ख्याभन्दा पार्टीका मान्यता, भावना, सिद्धान्त र आदर्श महत्वपूर्ण रहेको उल्लेख गर्दै लेखकले सत्यका पक्षमा संघर्ष गर्नेहरू कहिल्यै पराजित नहुने दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्