काठमाडौं, २ मंसिर । काभ्रेपलाञ्चोकका दुई रिसोर्टबाट प्रहरीले ७६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट पक्राउ परेका ३६ जना चिनियाँ नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभाग पठाइएको छ ।
नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र पाँच जना महिला छन् । उनीहरूबाट प्रहरीले ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन बरामद गरेको छ ।
प्रहरीका अनुसार चिनियाँ नागरिकहरूले करिब एक महिनादेखि रिसोर्ट भाडामा लिएर बस्दै आएका थिए । छापा मार्दा २६ जनाको पासपोर्ट फेला परेको र उनीहरू भिजिट भिसामा नेपाल आएको खुलेको छ ।
रिसोर्टमा रहेका ल्यापटप र मोबाइलका क्यामेरामा टेप लगाइएको तथा सर्भरजस्तो देखिने छुट्टै कोठा बनाइएको समेत पाइएको छ । उनीहरू कुन गतिविधिमा संलग्न थिए भन्नेबारे उपकरणको प्राविधिक परीक्षणपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत परिचालन गरिएको छ ।
यसैबीच, पनौती नगरपालिका–११ स्थित बल्थली माउन्टेन रिसोर्टबाट प्रहरीले ३५ जना जापानी र पाँच जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूले रिसोर्ट पूरै भाडामा लिएर बसेको पाइएको छ । रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन, फोटो स्टुडियो र प्रहरी स्टेसनजस्तै देखिने दुईवटा संरचना बनाइएको प्रहरीले जनाएको छ ।
ती संरचनाको प्रयोग प्रहरी कार्यालयको झल्को दिने गरी गरिएको हुनसक्ने र प्रहरीकै परिचय दिएर विभिन्न व्यक्तिसँग कुराकानी गर्ने गरेको हुनसक्ने आशंका गरिएको छ ।
दुवै घटनामा संलग्न विदेशी नागरिकहरूको गतिविधि, उद्देश्य र नेपालमा उनीहरूले गरिरहेको कामबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्