जनता टाइम्स

२ मंसिर २०८३, बुधबार १५:३०

गृहमन्त्रीकी आमाको भिडियो पोस्ट गर्ने पत्रकार सम्पर्कविहीन, खोजीका लागि प्रहरीमा निवेदन


काठमाडौं, मंसिर २ । गृहमन्त्री सुदन गुरुङकी आमाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका पत्रकार शालिकराम न्यौपाने सम्पर्कविहीन हुनुभएको छ ।

चलचित्र पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहनुभएका न्यौपाने मंसिर १ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन हुनुभएको उहाँकी श्रीमती अस्मिता पाण्डेले बताउनुभयो ।

अस्मिताका अनुसार न्यौपानेले ‘इन्टरटेनमेन्ट रिल्स’ नामक फेसबुक पेजमार्फत गृहमन्त्री गुरुङकी आमा ज्ञानु लामाको भिडियो पहिलोपटक सार्वजनिक गर्नुभएको थियो । भिडियो सार्वजनिक भएपछि साथीभाइ तथा विभिन्न व्यक्तिले फोन गरेर हटाउन दबाब दिएको उहाँको दाबी छ ।

दबाबपछि न्यौपानेले भिडियो हटाउनुभएको थियो । अहिले उक्त फेसबुक पेजको नाम परिवर्तन गरेर ‘न्युज अपडेट एनपी’ राखिएको छ ।

अस्मिताका अनुसार न्यौपानेले मंसिर १ गते बिहान ९ बजे ह्वाट्सएपमार्फत व्यक्तिगत भ्वाइस म्यासेज पठाउनुभएको थियो । त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको हो ।

उहाँले पटकपटक फोन गर्दा फोन जाने तर नउठ्ने र मध्यबानेश्वरस्थित कोठामा पुग्दा ताला लगाइएको तथा कोठाभित्रका सामान यथास्थितिमा रहेको बताउनुभयो ।

श्रीमान्को खोजतलास गरिदिन माग गर्दै अस्मिताले अनामनगर प्रहरी वृत्तमा निवेदन दिनुभएको छ ।

प्रहरी स्रोतका अनुसार निवेदन दर्ता भइसकेको छ र न्यौपानेको खोजी सुरु गरिएको छ । हालसम्म उहाँ सम्पर्कविहीन हुनुको कारण भने खुलेको छैन ।