काठमाडौं, मंसिर २ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने उच्चस्तरीय भेटवार्ताबारे विशेष छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारी र भ्रमणका क्रममा उठाइने विषयहरूबारे राजदूत दलेलासँग जानकारी लिनुभएको थियो। जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार राजदूत दलेलाले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी गराउँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन नेपाल र भारतका सम्बन्धित निकायले आवश्यक गृहकार्य तीव्र गतिमा अघि बढाइरहेको बताउनुभएको थियो। भेटवार्तामा दुई देशबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत विचारविमर्श भएको थियो। आपसी विश्वास, सहकार्य र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयले भेटमा प्राथमिकता पाएको जनाइएको छ।
सो अवसरमा प्रधानमन्त्री शाहले नेपालका लागि भारतीय राजदूत नियुक्त हुनुभएका दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
त्यसैगरी, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभएको थियो।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्ध थप सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा हुने भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताले द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र साझा चासोका विषयमा थप संवादको आधार तयार गर्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्