काठमाडौं, मंसिर २। नेकपा (एमाले)को राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको छ।
पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने तथा स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर आयोजना गरिएको भेलामा देशभरबाट ३ हजार ४१४ जना प्रतिनिधि तथा नेताहरू सहभागी हुनुहुन्छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा सुरु भएकाे भेलामा पार्टीका केन्द्रीय पदाधिकार तथा सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता रहेको छ।
भेलामा अध्यक्ष ओलीले राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको भावी कार्यदिशा र आगामी दिनमा गर्नुपर्ने कामसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसैगरी, वरिष्ठ नेता भण्डारीले मुलुकको समसामयिक परिस्थिति र पार्टीको कार्यभारबारे धारणा राख्नुहुनेछ।

उपाध्यक्ष रामबहादुर थापाले कम्युनिष्ट आन्दोलन तथा संसदीय सङ्घर्ष, उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको कार्यकालमा भएका विकास निर्माणका काम र महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
एमाले सचिव भानुभक्त ढकालका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरूको कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले आगामी दिनमा गर्नुपर्ने १५ वटा कामका विषयमा छलफल गर्न भेला आयाेजना गरिएकाे हाे ।
दुई दिनसम्म सञ्चालन हुने भेलाले पार्टीको सङ्गठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति र आगामी स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गर्नेछ।














प्रतिक्रिया दिनुहोस्