काठमाडौं, कात्तिक २७। नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहार बिदापछि खुलेको पहिलो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो ।
महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि ९ हजार ६८५ रुपैयाँले घटेर २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तिहारअघि १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँ थियो ।
तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव तथा गिरावटको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्