मोरङ, कात्तिक २३ । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरका प्रेमीसँग मिलेर पत्नीले नै श्रीमानको हत्या गरेको तथ्य खलेको छ । झेराहाटको उद्योगमा मजदुरी गर्दै आएका ४० वर्षीय बुधराम सोरेनको तिहार मनाउन आइतवार घर आएकै राती प्रेमीसँग मिलेर श्रीमतीले नै हत्या गरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालका अनुसार तिहार मनाउन घर आएका बेला सोरेनको हत्या भयो । उहाँका अनुसार फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती र उनका प्रेमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या आरोपमा सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनिल मिश्रलाई पक्राउ गरिएको एपसी कटवालले जानकारी दिनुभयो ।
एसपी कटवालका अनुसार प्रारम्भिक अनुसन्धानबाट तिहार मनाउन घर फर्किएका बुधराम, उनकी श्रीमती कमली र प्रेमी सुनिलले घरमै मदिरा सेवन गरेको देखिएको छ । मदिराले मातेपछि बुधराम कोठामा सुत्न गए । बुधराम निदाएपछि कमली र सुनिलको योजनाअनुसार उनको टाउकोमा फलामको रड प्रहार गरे ।
टाउकोमा गम्भीर चोट लागेका सोरेनको घटनास्थलमै मृत्यु भयो । हत्यापछि उनीहरूले कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएर हिँडे । पछि मृतककी १३ वर्षीय छोरीले ढोकाको चाबी खोलेर हेर्दा बुबालाई रक्ताम्य अवस्थामा देखेपछि घटना सार्वजनिक भएको थियो । त्यसपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएपछि पुगेको प्रहरीले घर नजिकै लुकेको अवस्थामा प्रेमीलाई पक्राउ गर्यो । कमली भने फरार थिइन् । कमलीलाई प्रहरीले सोमबार बिहान घरबाट थोरै टाढा रहेको धानबारीबाट नियन्त्रणमा लिएको हो ।
झोला बोकेर उनी भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । एसपी कटवालका अनुसार कमली र भारतीय नागरिक सुनिलबीच केही समयदेखि विवाहेत्तर प्रेम सम्बन्ध चलिरहेको थियो । सो सम्बन्धबारे पति बुधरामले थाहा पाएका थिए । सम्बन्धलाई लुकाउन दुवै मिलेर योजनाबद्ध रूपमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














प्रतिक्रिया दिनुहोस्