सुर्खेतमा ५२ प्रहरी परिचालन गरी आधा दर्जन स्थानमा छापा, ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद
सुर्खेत, कात्तिक २३ । सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एकै रात ५५ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा रातभर सञ्चालन गरिएको प्रहरी अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूको साथबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेलका अनुसार ५२ जना प्रहरी परिचालन गरी जिल्लाका आधा दर्जन स्थानमा छापा मारिएको थियो ।
‘एकै रातको अपरेसनमा कम्तीमा ५५ जना पक्राउ परेका छन । जुवाखालबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको छ,’ एसपी पोखरेलले भन्नुभयो ।
प्रहरीले सोमबार बिहान करिब पौने ३ बजे वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा छापा मारेर आठ जनालाई पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास भइरहेको गोप्य सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीका अनुसार पक्राउ परेका आठ जनाको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद भएको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयबाट गरी ५२ जना प्रहरीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो ।
छापा मार्ने टोलीमा प्रहरी निरीक्षक किसमत बुढामगरको कमान्डमा प्रदेश प्रहरी कार्यालयबाट १६ जना, प्रहरी निरीक्षक हिमाल थापामगरको कमान्डमा प्रदेश प्रहरी गणबाट २१ जना र प्रहरी निरीक्षक जितेन्द्र कठायतको कमान्डमा जिल्ला प्रहरी कार्यालयबाट १५ जना प्रहरी खटिनुभएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका सबैको विवरण संकलन भइरहेको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूको विवरण सार्वजनिक गरिने जनाइएको छ ।
पक्राउ परेका आठ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । एकै रात ठूलो संख्यामा व्यक्ति पक्राउ परेपछि प्रहरी हिरासत कक्षसमेत भरिएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्