जनता टाइम्स

२३ कार्तिक २०८३, सोमबार ०९:२०

तिहारको चौथो दिन आज गाईपूजा, विधिपूर्वक पूजा गरी मीठा परिकार खुवाइँदै


काठमाडौं, कात्तिक २३ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । गाईको दूध आमाको दूधसरह पोषिलो हुने धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवन आयुर्वेदमा यसको विशेष महत्व रहेको छ ।

धार्मिक मान्यताअनुसार यस दिन विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । नेपालका केही स्थान तथा समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको प्रारम्भमा गाईपूजा गर्ने परम्परा रहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक तथा संस्कारजन्य कार्यमा गाईदान गर्ने परम्परासमेत पालना गर्दै आएका छन् । गाईलाई सम्मानस्वरूप राष्ट्रिय जनावरका रूपमा समेत मान्यता दिइएको छ । 

धार्मिक विश्वासअनुसार आज गाईको पूजा गरी साउन शुक्ल पूर्णिमाका दिन दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराएर स्वर्ग पुर्‍याउन सहयोग गर्ने धार्मिक मान्यता रहिआएको छ ।यसरी गाईपूजा धार्मिक आस्था, परम्परा र सांस्कृतिक महत्वसँग जोडिएको तिहारको एक महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।