जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार १५:३४

गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, सत्ताको आडले सत्य लुक्दैन : कांग्रेस महामन्त्री प्रदीप पौडेल


काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अहिले विधिको शासनको सट्टा सनकका आधारमा राज्य सञ्चालन भइरहेको टिप्पणी गर्नु भएकाे छ । 

 महामन्त्री पौडेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि उठेका प्रश्नहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्नुभयाे । नेपाली काग्रेसका सभापति गगन थापाको गिरफ्तारीबारे विभिन्न ठाउँमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उहाँले विधिको शासन भएको अवस्थामा कुनै पनि व्यक्तिलाई गिरफ्तार गर्न खोज्नुको कारण, आरोप र कानुनी आधार स्पष्ट हुनुपर्ने बताउनुभएको छ।

उहाँले लेख्नुभएको छ, “जहाँ गए पनि एउटै प्रश्न-पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको हो ? विधिको शासन भएको भए प्रश्न गर्न सकिन्थ्यो-किन गिरफ्तार गर्ने ? कुन अपराधमा ? कुन कानुनी आधारमा ? तर जब विधिको होइन, सनकको शासन चल्छ, तब के जवाफ दिने ?”

बिनापक्राउ पुर्जी प्रहरी न्युजरुममा प्रवेश गर्ने शासनमा के हुन्छ र के हुँदैन भनेर भन्न नसकिने अवस्था रहेको उहाँको टिप्पणी छ। पौडेलले गिरफ्तारीको चर्चाभन्दा पनि अनुसन्धानका क्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनको भूमिकामाथि उठेका प्रश्नहरू गम्भीर रहेको बताउनुभएको छ।

उहाँले इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो भन्ने प्रश्न उठाउनुभएको छ। उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नको जवाफ सम्बन्धित पक्षले दिनुपर्ने उहाँको भनाइ छ।

“प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्ने होइन ? अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो ? कुन कानुनी अधिकारले ? कसको निर्देशनमा ? के लुकाउन खोजिएको थियो ? के मेटाउन खोजिएको थियो? र कसलाई जोगाउन खोजिएको थियो ?” उहाँले प्रश्न गर्नुभएको छ।

महामन्त्री पौडेलले प्रधानमन्त्री र उहाँको सचिवालयको बिचौलियासँगको सम्बन्धबारे पनि प्रश्न उठाउनुभएको छ। ती बिचौलियालाई लामो समयसम्म कसले संरक्षण गरेको थियो र ऊ कसको पहुँच तथा प्रभावमा रहेर काम गरिरहेको थियो भन्ने विषयको समेत छानबिन हुनुपर्ने उहाँको माग छ।

प्रमाण मेटिएको आरोप, अनुसन्धानका क्रममा बरामद मोबाइल अनधिकृत रूपमा नियन्त्रणमा राखिएको विषय, मोबाइलबाट स्क्रिनसट लिइएको तथा डिजिटल सामग्रीमा छेडछाड भएको आशंकासहित बिचौलियासँगको सम्पर्क र सम्बन्धबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने व्यक्तिहरूले नै अरूमाथि प्रश्न उठाइरहेको उहाँको टिप्पणी छ। उहाँले लेख्नुभएको छ, “अनि जवाफ दिनुपर्ने चाहिँ हामीले ? स्क्रिप्ट तिमीहरूकै। कथा तिमीहरूकै। भाष्य तिमीहरूकै। पात्रहरू पनि तिमीहरूकै। अनि प्रश्नको कठघरामा चाहिँ हामी ?”

आफूमाथि उठेका गम्भीर प्रश्नबाट ध्यान मोड्न अरूमाथि राजनीतिक आक्रमण गर्ने र अनुसन्धानको विषयलाई राजनीतिक प्रतिशोधको हतियार बनाउने प्रयास भइरहेको आशंका पनि पौडेलले व्यक्त गर्नुभएको छ।

उहाँले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाबारे सम्बन्धित पक्षले आफ्ना कानुनी सल्लाहकारसँग बुझ्नुपर्ने उल्लेख गर्नुभएको छ। “अनुसन्धानमा रहेको डिजिटल प्रमाण अनधिकृत व्यक्तिको नियन्त्रणमा पुग्नु र त्यसमा छेडछाड भएको आशंका उठ्नु कति गम्भीर विषय हो, त्यो पनि सोध,” उहाँले लेख्नुभएको छ।

निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने व्यक्ति कांग्रेस नेता गगन थापा हो कि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन भन्ने प्रश्नसमेत उहाँले उठाउनुभएको छ। सत्तामा रहेको भन्दैमा कानुन र न्यायलाई आफ्नो निजी सम्पत्तिका रूपमा प्रयोग गर्न नमिल्ने महामन्त्री पौडेलको भनाइ छ। उहाँले लेख्नुभएको छ, “सत्ता तिम्रो छ। सरकार तिम्रो छ। प्रहरी र प्रशासनमाथि प्रभाव तिम्रो छ। तर कानुन तिम्रो होइन। न्याय तिम्रो निजी सम्पत्ति होइन। राज्यका संस्थाहरू कसैको व्यक्तिगत प्रतिशोध पूरा गर्ने औजार होइनन्।”

गिरफ्तारीको हल्ला र राजनीतिक आक्रमणबाट उक्त प्रकरणलाई सामसुम पार्न नसकिने उहाँले चेतावनी दिनुभएको छ। पौडेलले आफूहरूले निष्पक्ष अनुसन्धान, तथ्य, प्रमाण र सत्यको माग गरेको स्पष्ट पार्दै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने धारणा राख्नुभएको छ। “हामी निष्पक्ष अनुसन्धान चाहन्छौँ। तथ्य चाहन्छौँ। प्रमाण चाहन्छौँ। सत्य चाहन्छौँ। दोषी जोसुकै होस्, कानुनअनुसार कारबाही हुनुपर्छ। यो प्रकरणमा दूधको दूध, पानीको पानी नभएसम्म हामी छाड्ने छैनौँ,” उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले गिरफ्तारीको हल्ला फैलाएर प्रश्न दबाउन नसकिने र सत्ताको आडमा सत्य लुकाउन नसकिने बताउँदै आफूमाथि उठेका प्रश्नको जवाफ दिन सरकार पक्षलाई चुनौती दिनुभएको छ। “के गिरफ्तारीको धम्की दिन्छौ? गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन। सत्ताको आडले सत्य लुक्दैन। हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नहरूको जवाफ देऊ,” महामन्त्री पौडेलले फेसबुकमा लेख्नुभएको छ।