जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार १२:५०

चाडबाडको बिदामा पनि साइबर ब्युरोको ताकेता, कांग्रेस सहमहामन्त्री शिवाकोटी ब्युराेमा उपस्थित हुँदै


काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटीले चाडबाडको बिदाका बेलासमेत नेपाल प्रहरीको साइबर ब्युरोबाट ताकेता आएपछि आफू ब्युरोमा उपस्थित हुन लागेको बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एक घण्टापछि साइबर ब्युरो पुग्ने जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु। आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु। जय नेपाल।’

सिवाकोटीको पछिल्लो अभिव्यक्तिले साइबर ब्युरोमा उहाँलाई बोलाइएको विषय पुनः चर्चामा आएको छ। यसअघि पनि ब्युरोले उहाँलाई सामाजिक सञ्जालमा व्यक्त विचारका सम्बन्धमा सोधपुछका लागि उपस्थित हुन निर्देशन दिएको थियो।

यसअघि कात्तिक १९ गते नेपाल प्रहरीको साइबर ब्युरोले सिवाकोटीलाई फोनमार्फत सम्पर्क गरी कार्यालयमा उपस्थित हुन भनेको समाचार सार्वजनिक भएको थियो। त्यसबेला उहाँ काठमाडौं उपत्यकाबाहिर धार्मिक यात्रामा रहनुभएको र काठमाडौं फर्किएपछि ब्युरोमा उपस्थित हुने बताउनुभएको थियो।

त्यसक्रममा उहाँले सामाजिक सञ्जालमै सरकारको भय र भ्रमबाट विचलित नहुने बताउँदै प्रहरी लगाएर खोज्नुपर्ने अवस्था नरहेको र आफू काठमाडौं आउँदै गरेको उल्लेख गर्नुभएको थियो।