जनता टाइम्स

२२ कार्तिक २०८३, आइतबार ०९:०९

तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि सम्मान गरौँ : मुख्यमन्त्री किरण थापा मगर


काठमाडौं, कात्तिक २२। तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्वका रूपमा मनाइँदै गर्दा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने यस पर्वलाई महिला सम्मान र नारी शक्तिको महत्वसँग जोड्नुभएको छ ।

लक्ष्मीपूजाको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले तस्बिरमा सजिएकी लक्ष्मीको पूजा गरेर मात्र नहुने भन्दै घरपरिवार र समाजमा रहेका महिलालाई पनि उत्तिकै आदर र सम्मान गर्न आग्रह गर्नुभएको छ । ‘तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर–सम्मान दिनुहोस्,’ उहाँले भन्नुभएको छ ।

उहाँले संसारका तीन प्रमुख शक्ति बल, विद्या र धन रहेको उल्लेख गर्दै ती तीनै शक्ति स्त्री स्वरूपमा रहेको बताउनुभएको छ । बलकी प्रतीक पार्वती, विद्याकी प्रतीक सरस्वती र धनकी प्रतीक लक्ष्मीको उदाहरण दिँदै उहाँले नारी शक्तिको महत्त्व उजागर गर्नुभएको हो । ‘स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता,’ मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ, ‘त्यसैले आफ्नो मनोबल उच्च राखौँ, स्त्री शक्तिको सम्मान गरौँ ।’

दशैँमा शक्तिको उपासना गरेर पर्व मनाएपछि तिहारमा लक्ष्मीको उपासना गर्ने परम्परालाई स्मरण गराउँदै उहाँले धार्मिक आस्था र व्यवहारबीच समानता हुनुपर्ने सन्देश दिनुभएको छ । मुख्यमन्त्री थापा मगरले आफ्नो शुभकामना सन्देशमा मनुस्मृतिको श्लोकसमेत उद्धृत गर्नुभएको छ :

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।।’

यसको अर्थ जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताको बास हुन्छ र जहाँ नारीको सम्मान हुँदैन, त्यहाँ गरिएका सबै राम्रा कर्मसमेत निष्फल हुन्छन् भन्ने रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

महिलाको सम्मानलाई औपचारिक शुभकामना र धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी दैनिक जीवन र सामाजिक व्यवहारमा समेत उतार्नुपर्ने सन्देश दिँदै उहाँले महिला सम्मानमा समर्पित तिहार नारी उत्थानको कडी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले लक्ष्मीपूजाको अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।