जनता टाइम्स

२१ कार्तिक २०८३, शनिबार १८:४०

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड


काठमाडौं, कात्तिक २१ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकास र समृद्धिका लागि पहिलो गणतान्त्रिक सरकारले नै आधार तयार गरेको दाबी गर्नुभएको छ ।

‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक विमोचन कार्यक्रममा उहाँले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई विकासको मूलधारमा ल्याउन आफू प्रधानमन्त्री हुँदा कर्णालीमा पूर्वाधार निर्माणको सुरुआत गरिएको बताउनुभयो ।

उहाँले मध्यपहाडी लोकमार्ग र उत्तर–दक्षिण करिडोर निर्माणले देशलाई थप जोडेको उल्लेख गर्दै कर्णालीका कृषि उत्पादन अन्य जिल्लामा पुर्‍याउन र तराईका अन्नबाली कर्णालीसम्म लैजान सहज भएको बताउनुभयो ।

प्रचण्डले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले १० हजार ८०० मेगावाटको कर्णाली–चिसापानी आयोजना तथा तिला–१ र तिला–२ आयोजना अघि बढाउन पहल गरेको जानकारी दिनुभयो ।

त्यस्तै, चीनको सहयोगमा हिल्सा–सुर्खेत सडक निर्माण अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको पनि उहाँले स्मरण गर्नुभयो ।