जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार १०:२८

प्रतिकको मात्रै सधैँ मालदार पोस्टिङ किन हुन्छ ? के हो रहष्य ?


क्रिप्टो प्रकरणमा कारबाही सिफारिस भएका प्रतीक सिंह फेरि सुगममै, दुर्गममा अरू प्रहरी; पूर्व एसपी मुकेश सिंहको पहुँच र सन्दुक रुइतसँगको सम्बन्धबारे प्रश्न !

काठमाडौं, कात्तिक १५ । गृहमन्त्री सुधन गुरुङले प्रहरीमा दवावमा होइन, मापदण्डअनुसार सरुवा बढुवा भनेको भनेकै हुनुहुन्छ तर व्यवहारमा ठीक उल्टो काम भइरहेको छ भन्ने तथ्य धमाधम बाहिर आइरहेको छ ।

हुन पनि नेपाल प्रहरीमा सरुवा र पदस्थापन कार्यक्षमता, आवश्यकता र सेवाको मापदण्डका आधारमा हुनुपर्ने हो । तर प्रहरी निरीक्षक प्रतीक सिंहको सेवायात्रा हेर्दा एउटा प्रश्न उठेको छ, ‘के आधारमा सधैँ आकर्षक र सुविधाजनक जिम्मेवारीमै रहन सफल भइरहेका छन् ? दुर्गम क्षेत्रमा प्रहरी कर्मचारी खटिँदा सिंह भने सुगम र महत्वपूर्ण जिम्मेवारीमै रहनुको आधार के हो ?’

काठमाडौं प्रहरी परिसरमा मुद्दा शाखाको जिम्मेवारी सम्हाल्दा क्रिप्टोकरेन्सी प्रकरणमा विवादमा तानिनुभएका सिंहमाथि विभागीय कारबाही सिफारिस भएको सार्वजनिक अभिलेख छ । त्यसपछि चितवनको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयमा पुग्नुभएका सिंह साउन २०८२ मा उत्कृष्ट प्रहरीसमेत घोषित हुनुभयो । अब प्रश्न उठछ, ‘विभागीय कारबाही सिफारिसको अन्तिम अवस्था के भयो ? उहाँको सरुवा र पदस्थापनमा प्रहरी संगठनको नियमित मापदण्ड लागू भयो कि प्रभावशाली पहुँचले पनि भूमिका खेल्यो ?’

सिंहका पिता मुकेश सिंह पूर्वप्रहरी उपरीक्षक रहेको र अहिले तिलगंगासँग आँखा अस्पतालमा सम्बन्धित जिम्मेवारीमा रहेको विवरण सार्वजनिक भएको छ । मुकेश सिंहको डा. सन्दुक रुइतसँगको संस्थागत निकटता र सम्बन्धबारे पनि प्रश्न उठिरहेका छन् । यही सम्बन्धका कारण प्रतीकलाई प्रहरी संगठनभित्र सहजता अनुमान उनकै सहकर्मीले गरिरहेका छन ।

दुर्गममा अरू प्रहरीलाई पठाउने तर आफू भने सुगम र महत्वपूर्ण जिम्मेवारीमै रहन सफल हुने कारण के हो ? सरुवाको निर्णय गर्ने अधिकारी को हुन ? प्रहरी प्रधान कार्यालयले सिंहको पोस्टिङको मापदण्ड सार्वजनिक गर्न सक्छ ? प्रभावशाली पारिवारिक सम्बन्ध भएका कारण संगठनभित्र विशेष सुविधा पाएको हो भने त्यसको जवाफदेहिता कसले लिने ? भन्ने उनीहरुको प्रश्न छ ।

क्रिप्टो प्रकरणले खोलेको प्रहरी जिम्मेवारीको प्रश्न

२०८१ असोजमा काठमाडौं प्रहरी परिसरमा कार्यरत प्रहरी निरीक्षक प्रतीक सिंह क्रिप्टोकरेन्सी प्रकरणमा विवादमा तानिनुभएको थियो । क्रिप्टो कारोबारको आरोपमा पक्राउ परेका आशिष आचार्यलाई दुई दिन हिरासतमा राखेर छाडिएको घटनाले प्रहरी संगठनभित्रै हलचल ल्याएको थियो ।

आचार्यको परिवारले तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएको थियो । उक्त रकममध्ये ३५ लाख रुपैयाँ तामाङको बैंक खातामा जम्मा भएको विवरण सार्वजनिक भएको थियो । बाँकी १५ लाख रुपैयाँ प्रहरीलाई दिएको हुन सक्ने आशंका गरिएको थियो। तर प्रहरीलाई रकम दिएको पुष्टि भने भएको थिएन ।

यस घटनामा प्रहरी निरीक्षक सिंहले आचार्यलाई ’गुडफेथ’मा छाडिएको बताउनु भएको थियो । छानबिन समितिले सिंहको प्रत्यक्ष आर्थिक लेनदेनमा संलग्नता नदेखिए पनि जिम्मेवारी निर्वाहमा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको थियो ।

सो घटनाको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको समितिले सिंहसहित तीन प्रहरीमाथि विभागीय कारबाही सिफारिस गरेको थियो । तर यहाँ एउटा महत्वपूर्ण प्रश्न छ, ‘विभागीय कारबाही सिफारिस भएपछि सिंहमाथि वास्तवमा के कारबाही भयो ? चेतावनी, नसिहत, जिम्मेवारीबाट हटाउने निर्णय वा अन्य विभागीय प्रक्रिया के अपनाइयो ? प्रहरी प्रधान कार्यालयले यसको विवरण सार्वजनिक गरेको छ कि छैन ? उपत्यका प्रहरी कार्यालय पनि चुपचाप बसेको छ ।

काठमाडौंको मुद्दा शाखादेखि मुग्लिनसम्म

प्रहरी निरीक्षक सिंहको सार्वजनिक रूपमा पुष्टि भएको जिम्मेवारीमध्ये २०८१ मा जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखा महत्वपूर्ण छ ।

त्यसपछि उहाँ चितवनको मुग्लिनस्थित इलाका प्रहरी कार्यालयमा पुगेको समाचार सार्वजनिक भयो । २०८२ साउनमा चितवन प्रहरीबाट महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको विवरणसमेत प्रकाशित भएको छ ।

सन्दुक रुइतसँगको सम्बन्ध नै अवसरको सिढी

प्रतीक सिंहका पिता मुकेश सिंह पूर्व प्रहरी अधिकारी हुनुहुन्छ । उहाँ तिलगंगा आँखा प्रतिष्ठानसँग सम्बन्धित जिम्मेवारीमा रहेकोले मुकेश सिंह र सन्दुक रुइतबीचको संस्थागत सम्बन्ध छ । सोही निकटताले प्रहरी संगठनभित्र प्रतीक सिंहलाई कुनै विशेष पहुँच वा सुविधा दिलाएको स्रोतको भनाई छ ।

प्रतिकको सवालमा सरोकारवालाको प्रश्न छ, ‘प्रहरीको सरुवा प्रणाली नियमले चल्छ कि पहुँचले ? दुर्गममा अरू प्रहरीलाई पठाएर केही कर्मचारी सधैँ सुविधाजनक जिम्मेवारीमा रहन सफल हुन्छन् भने त्यसको हिसाब संगठनले दिनुपर्छ ।