जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार ०७:३१

चुनावमा पराजित भएपछि फ्लाभियो बोल्सोनारो अमेरिका पुगे, परिवारलाई भिसा दिने तयारी


काठमाडौँ, कात्तिक ११ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि सिनेटर फ्लाभियो बोल्सोनारो पत्नी र दुई छोरीसहित अमेरिका पुगेका छन् । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार उनलाई र उनको परिवारलाई अमेरिका प्रवेशका लागि भिसा उपलब्ध गराइनेछ ।

रोयटर्सका अनुसार मंगलबारसम्म प्राप्त जानकारीमा फ्लाभियो परिवारसहित ब्राजिल छाडेर अमेरिका पुगेका हुन् । परिवारनिकट एक स्रोतले उनी फ्लोरिडा पुगेको बताए पनि उनीहरू कहाँ बसेका छन् भन्ने खुलाएको छैन ।

फ्लाभियो आइतबार भएको निर्वाचनमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका थिए । उनले औपचारिक रूपमा हार स्वीकार गरेका छैनन् । निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै उनले नतिजा बदरको मागसमेत गरेका थिए ।

अमेरिका प्रस्थान गर्नुअघि ब्राजिलको सर्वोच्च अदालतले उनलाई २४ घण्टाभित्र राहदानी बुझाउन आदेश दिएको थियो । तोकिएको समयभित्र राहदानी नबुझाएपछि ती रद्द गरिएको स्रोतहरूले बताएका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनी देश छाडेर भाग्न सक्ने जोखिम औँल्याउँदै अदालतले राहदानी जफत गर्ने आदेश दिएको थियो । फ्लाभियोले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।

‘म कहिल्यै देश छाडेर जाने सोचमा थिइनँ । राहदानी बुझाएर यो अन्यायविरुद्ध लड्नेछु,’ उनले सोमबार भनेका थिए । तर त्यसको केही समयपछि उनी अमेरिका पुगेको खबर सार्वजनिक भएको हो ।

ब्राजिलको संघीय प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार फ्लाभियोले नियमित अध्यागमन नाकाबाट देश छाडेका थिएनन् । उनी कसरी अमेरिका पुगे भन्ने विषय भने अझै स्पष्ट भएको छैन ।

अमेरिका–ब्राजिल सम्बन्धमा तनाव बढ्ने संकेत

फ्लाभियोको अमेरिका प्रस्थानले ब्राजिल र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने देखिएको छ । अमेरिकाले बोल्सोनारो परिवारलाई पुनः सत्तामा पुर्‍याउन सहयोग गरिरहेको आरोप राष्ट्रपति लुलाले लगाउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि फ्लाभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो न्यायिक प्रतिशोधको सिकार भएको दाबी गरेका थिए । ट्रम्पले सोमबार ब्राजिलको निर्वाचन पनि ‘धाँधलीपूर्ण देखिएको’ टिप्पणी गरेका थिए ।

जायर बोल्सोनारो सन् २०२२ मा लुलासँग पराजित भएपछि अमेरिका गएका थिए । पछि ब्राजिल फर्किएका उनलाई सत्तापलटको षड्यन्त्र गरेको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो ।

फ्लाभियो देश छाडेको खबर सुनेपछि लुलाले त्यसलाई लज्जास्पद भन्दै उनले ब्राजिलमै बसेर आफ्नो निर्दोषिता प्रमाणित गर्नुपर्ने बताएका छन् ।

फ्लाभियोको चुनावी अभियानका व्यवस्थापकसमेत उनको अमेरिका प्रस्थानबाट आश्चर्यमा परेका छन् । सिनेटर रोजेरियो मारिन्होका अनुसार निर्वाचनमा करिब ६ करोड मत प्राप्त गरेका फ्लाभियोले विपक्षी नेताको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो ।

फ्लाभियोको सिनेटको कार्यकाल आगामी फेब्रुअरीमा सकिँदैछ । त्यसपछि उनले अभियोजनबाट प्राप्त संवैधानिक उन्मुक्ति गुमाउनेछन् ।