जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार ०७:१९

वर्षा र हिमपातको जोखिम, सतर्क रहन प्राधिकरणको आग्रह


काठमाडौं, कात्तिक ११ । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्नेछ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चक्रवातको प्रभाव शुक्रबारदेखि नेपालमा पर्न सक्ने बताउनुभयो । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले त्यस्ता क्षेत्रमा यात्रा नगर्न प्राधिकरणले अनुरोध गरेको छ । अत्यावश्यक कामबाहेक यात्रा नगर्न, नदी तथा खोलाका किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न पनि आग्रह गरिएको छ ।

प्राधिकरणले मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

आपत्कालीन अवस्थामा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र पर्यटक प्रहरीको ११४४ नम्बरमा सम्पर्क गर्न प्रवक्ता केसीले अनुरोध गर्नुभएको छ ।