जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार ०७:३४

अर्थमन्त्री वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग


काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले भारतमा दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहनुभएका वाग्लेले भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसँग यस्तो माग गर्नुभएको हो ।

बाँस्कोटाले वाग्लेलाई ‘नव लेन्डुप’को संज्ञा दिँदै आलोचना गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “न राष्ट्रसंघ, न युनिभर्सिटीको पीएचडीको खोस्टो थियो उनीसँग, तर पृथ्वीनारायण शाहले परराष्ट्र सम्बन्धलाई झिकी कटक–जाई कटक र दुई ढुंगाको तरुलको सूत्रमा बाँधेका थिए। अहिले बेपर्वाह नव लेन्डुप उफ्रने? किक आउट हिम, पिएम!”

अर्थमन्त्री वाग्लेले कात्तिक ६ गते भारतमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गर्ने क्रममा ‘नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको’ बताउनुभएको थियो ।

उहाँको उक्त अभिव्यक्तिलाई लिएर विभिन्न व्यक्तिले विरोध जनाइरहेका छन् । आलोचकहरूले वाग्लेको भनाइलाई राष्ट्रघाती भएको आरोप लगाएका छन् ।