जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार ०७:२६

श्रीलङ्कामा मुसलधारे वर्षा, देशभरका विद्यालय बन्द


काठमाडौं, कात्तिक ११ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले श्रीलङ्कामा मुसलधारे वर्षा भएपछि सरकारले देशभरका विद्यालय बन्द गरेको छ । समुद्रमा चार मिटरसम्म अग्ला छाल उठ्ने सम्भावना रहेकाले माछा मार्ने कार्यमा समेत प्रतिबन्ध लगाइएको छ ।

श्रीलङ्काको शिक्षा मन्त्रालयले मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै विद्यार्थी तथा विद्यालयका कर्मचारीको सुरक्षाका लागि मंगलबार विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । यद्यपि सामान्य शिक्षा प्रमाणपत्र परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयको व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

चक्रवातको प्रभावले श्रीलङ्काका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि प्रभावित क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । बुधबार बिहान भारतको आन्ध्र प्रदेश तटीय क्षेत्रमा, विशाखापट्टनम र बापटलाबीच ठोक्किन सक्ने अनुमान गरिएको छ ।

चक्रवातको केन्द्रनजिक समुद्री क्षेत्रमा हावाको गति प्रतिघण्टा २१५ देखि २२० किलोमिटरसम्म पुगेको बताइएको छ । तटीय क्षेत्रमा ठोक्किने समयमा भने हावाको गति प्रतिघण्टा १३५ किलोमिटर रहने पूर्वानुमान गरिएको छ ।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै भारतको आन्ध्र प्रदेशस्थित काकिनाडा र आसपासका तटीय क्षेत्रबाट करिब ८९ हजार नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा सारिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी रेल सेवा र हवाई उडानसमेत रद्द गरिएका छन् ।