जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार ०७:२५

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको आग्रह


मुस्ताङ, कात्तिक ११ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले मुस्ताङका उच्च हिमाली क्षेत्रमा कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले आग्रह गरेका छन् ।

गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेको प्रशासनले जनाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले चिसो बढ्ने, सडकमा पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो ।

यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि प्रतिकूल मौसमका कारण कोरला नाका र आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ ।

गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो भई सवारी दुर्घटना हुने तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई अनुरोध गर्नुभएको छ ।

मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फको यात्रा र सवारीसाधनको आवागमन स्थगित गर्न गाउँपालिकाले आग्रह गरेको छ ।