जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार १५:४०

रेष्टुरेन्ट सञ्चालकको मृत्यु प्रकरणमा रेष्टुरेन्टकै क्यासियर रहेकी युवती पक्राउ, प्रेम सम्बन्धमा रहेको खुलासा


मोरङ, कात्तिक ९ । शनिवार दिउँसो केराबारीको जङलमा मृत फेला परेका विराटनगरका होटल सञ्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले रेष्टुरेन्टमै कार्यरत एक युवतीलाई पक्राउ गरेको छ ।

फिजफायर रेष्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले सोही होटलमा कार्यरत युवतीलाई नियन्त्रणमा लिएको हो । रेष्टुरेन्ट सञ्चालक खत्री शनिबार दिउँसो केराबारी गाउँपालिका–९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीय युवतीसँग व्यक्तिगत सम्बन्ध रहेको देखिएकोले अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रेस्टुरेन्टको आर्थिक हिसाब किताबलाई आधार बनाएर अनुसन्धान थालेपछि युवती पक्राउ परेकी हुन ।

मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले खत्रीले सञ्चालन गर्दै आएको रेस्टुरेन्टको आर्थिक हिसाब किताबसमेत हेर्ने ती युवतीसँग खत्रीको प्रेम सम्बन्धसमेत रहेको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनु भयो ।

प्रारम्भिक रुपमा खत्री र युवतीबीच प्रेम सम्बन्धका विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले युवतीलाई शनिबार राति नै पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ । प्रहरीका अनुसार ती युवतीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ । यद्यपी प्रहरीले खत्रीको मृत्युमा युवतीको संलग्नता वा उनको व्यवहारको कुनै भूमिका छ वा छैन भन्ने विषय अनुसन्धानबाट पुष्टि भइनसकेको जनाएको छ ।

प्रहरीले खत्री र युवतीबीच पछिल्लो समय सम्बन्धमा खटपट देखिएको तथा रेस्टुरेन्टको आर्थिक कारोबारसम्बन्धी विषय पनि अनुसन्धानयोग्य रहेको जनाएको छ ।

खत्री शुक्रवार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए । त्यसपछि परिवारसँग सम्पर्कविहीन भएका खत्री शनिवार दिउसो केराबारी गाउँपालिका–९ स्थित धारापानी जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

परिवारका सदस्यले पहिचान गरेपछि शनिबार साँझ खत्रीको सनाखत भएको थियो । बिवाहित खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाका बेला खत्रीकी श्रीमती भारतमा रहेको प्रहरीले जनाएको छ ।