काठमाडौं, कात्तिक ९ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि सञ्चालन गरेको ‘राष्ट्रिय जागरण अभियान’ का लागि नेता तथा कार्यकर्ताहरूको कार्य विभाजन गरेको छ ।
नेकपाको केन्द्रीय संयोजन समिति बैठकका निर्णयहरू समेटेर जारी गरिएको ‘अन्तरपार्टी निर्देशन–५’ अनुसार केन्द्रीय नेतादेखि स्थानीय तहसम्मका कार्यकर्तालाई आ–आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा खटाउने निर्णय गरिएको उल्लेख छ ।अपानिमा अभियानलाई व्यवस्थित, प्रभावकारी र जनकेन्द्रित बनाउन पार्टीले आफ्ना सबै तहका नेता–कार्यकर्ताको जिम्मेवारी तोकिएको छ ।
निर्देशनअनुसार केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूलाई आफू मतदाता रहेका सम्बन्धित प्रदेशहरूमा जिल्ला समन्वयको जिम्मेवारी दिएर खटाइएको छ । निर्णयअनुसार उनीहरूले प्रदेश समितिसँग समन्वय गरी जिल्ला पार्टी समितिहरूसँग नियमित सम्पर्क, अनुगमन, मार्गदर्शन र सहजीकरण गर्नेछन ।
नेकपाले गत निर्वाचनमा उम्मेदवार रहेका नेताहरूलाई आफू उम्मेदवार बनेकै निर्वाचन क्षेत्रमा अनिवार्य खटिन पनि निर्देशन दिएको छ । कार्यबिभाजनअनुसार केन्द्रीय सदस्यहरूले स्थानीय तहअन्तर्गत पालिका र वडा स्तरमा सञ्चालन हुने अभियान टोलीको प्रत्यक्ष नेतृत्व गर्नेछन् भने प्रादेशिक जिम्मेवारीमा नरहेका केन्द्रीय सदस्यहरूलाई पनि मतदाता नामावली रहेको प्रदेशअन्तर्गत नै खटाइएको छ ।
यसैगरी विभाग, मोर्चा र जनवर्गीय सङ्गठनको जिम्मेवारीमा रहेका नेता–कार्यकर्ताहरू समेत आफ्नै मतदाता नामावली रहेको क्षेत्रमा परिचालित हुनुपर्ने अपानिमा निर्देशित गरिएको छ । प्रवासमा रहेका पार्टी पङ्क्तिलाई भने उनीहरू कार्यरत रहेकै देशमा अभियानसँग जोड्ने गरी सम्बन्धित प्रदेशले कार्यविभाजन गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै प्रदेश समितिहरूले आ–आफ्ना प्रदेशअन्तर्गतका केन्द्रीय सदस्यहरूसँग समन्वय गरी सङ्गठनात्मक, वैचारिक र जनपरिचालनका कामहरू प्रभावकारी रूपमा अगाडि बढाउने अपानिमा निर्देशित गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्