जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार १६:४४

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित


काठमाडौं, कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो।

आज भएकाे खेलमा १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन जोड्नुभयो। उहाँले ४ छक्का र १ चौका प्रहार गरेका थिए।  

विराटनगरका लोकेश बमले २६ तथा बसिर अहमदले १३ रन बनाए । तर, अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा विराटनगर लक्ष्यसम्म पुग्न सकेन।

चितवनको जितमा बलर कमल सिंह ऐरी निर्णायक बने। उनले चार विकेट लिए। रिजन ढकालले दुई विकेट लिए भने टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियाे । 

चितवनका लागि डेविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै ७० रनको अर्धशतकीय पारी खेले। उहाँले ५ छक्का र ५ चौका प्रहार गरेका थिए। रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहनुभयो भने देव खनालले १२ रन बनाए।

विराटनगरका बलरमध्ये एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।

चितवनले बनाएको प्रतिस्पर्धात्मक योगफल जोगाउँदै बलिङमा प्रभावशाली प्रदर्शन गरेपछि टोलीले एनपीएलमा पहिलो खेलमै दुई अंक हासिल गरेको छ।