काठमाडौं, कात्तिक १० । संघीय राजधानी काठमाडौंको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अपरेशनका क्रममा पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा गरेको ७५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ६० जना पुरुष, १४ जना महिला र अन्य एक जना रहेका छन्। सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सर्वसाधारणलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले प्रहरीले विशेष प्रहरी टोली परिचालन गरी अभियान सञ्चालन गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुका साथै आपराधिक गतिविधिको रोकथाम तथा नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
एसपी थापाका अनुसार सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्र र नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी प्रहरी परिचालन गरिएको थियो ।

काठमाडौं प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेको बिशेष योजनाअनुसार सो अपरेशन सञ्चालन गरिएको थियो । अपराधमुक्त काठमाडौं बनाउने योजनाका साथ नेतृत्व गरिरहनुभएका एसएसपी घिमिरेले उपत्यकाभित्र आपराधिक गतिबिधि बढन सक्ने र दशैंको समयमा चोरीको घटनालाई ध्यानमा राखेर स्वीप अपरेशन सञ्चालनको निर्णय लिनुभएको हो ।
सार्वजनिक सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको सक्रियता
पछिल्लो समय सार्वजनिक यातायात, भीडभाडयुक्त क्षेत्र तथा सेवाग्राहीको बढी उपस्थिति रहने स्थानमा हुन सक्ने चोरी, लुटपाट, दुव्र्यवहार, होहल्ला, हुलहुज्जत र बिचौलियाको गतिविधि नियन्त्रण गर्न प्रहरीले अभियानलाई प्राथमिकता दिएको छ ।
एसपी थापाका अनुसार अभियानका क्रममा सर्वसाधारणमाथि हातपात गर्ने, दुव्र्यवहार गर्ने, सार्वजनिक स्थानमा अशान्ति फैलाउने तथा गुण्डागर्दीलगायतका आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
सार्वजनिक स्थानमा प्रहरीको सक्रिय उपस्थिति बढाएर सम्भावित अपराध रोकथाम गर्ने, नागरिकको आवागमनलाई सुरक्षित बनाउने र गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रयासलाई यस अभियानको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ ।
अदालतबाट सजाय तोकिएका र फरार प्रतिवादीसमेत पक्राउ
काठमाडौं प्रहरीको स्वीप अपरेसनका क्रममा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदारलाई समेत पक्राउ गरेको एसपी थापाले जानकारी दिनुभयो । त्यस्तै, विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अदालतबाट सजाय तोकिएका तथा चालु मुद्दामा फरार रहेका व्यक्तिसमेत पक्राउ पर्नुलाई प्रहरीको ठूलो सफलताको रुपमा लिइएको छ । कानुन कार्यान्वयन र न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन अभियुक्तको पक्राउले महत्वपूर्ण काम गर्ने प्रहरीको भनाई छ ।
नागरिकको सुरक्षाका लागि निरन्तर निगरानी आवश्यक
सार्वजनिक यातायात, बजार क्षेत्र, भीडभाडयुक्त स्थान र सरकारी कार्यालय आसपास सर्वसाधारणले निर्भय रूपमा आवतजावत गर्न सक्ने वातावरण निर्माण गर्नु प्रहरीको प्रमुख जिम्मेवारी हो। यस्ता क्षेत्रमा लक्षित सुरक्षा अभियान सञ्चालन गर्नु अपराध नियन्त्रणसँगै नागरिकमा सुरक्षाको अनुभूति बढाउने सकारात्मक पहल हो ।
काठमाडौं प्रहरीको यो अभियानले सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियमित निगरानी, सक्रिय प्रहरी परिचालन र प्रभावकारी कानुनी कारबाही आवश्यक रहेको सन्देश दिएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरूको संलग्नता र उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने जनाएको छ ।
सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिने यस्ता अभियानलाई निरन्तरता दिन सके काठमाडौंका सार्वजनिक स्थल तथा यातायात क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्