झापा, कात्तिक १० । झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रमका महिलाले सामूहिक सयपत्री फूलखेतीबाट आम्दानी गर्ने तयारी गरेका छन्। स्थानीय महिलाले छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा हुर्काएर तिहारका लागि फूल र माला बिक्री गर्ने तयारी गरेका हुन्।
सयपत्री फूल कृषक आमासमूहले खेतीमा करिब २५ हजार रुपैयाँ लगानी गरेको छ। समूहकी संयोजक कविता बस्नेतका अनुसार फूल बिक्रीबाट यस वर्ष तीन लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको छ। एउटा माला १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्ने तयारी रहेको उहाँले बताउनुभयो।
तिहार नजिकिँदै गर्दा समूहका सदस्य फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारीमा जुटेका छन्। सम्भावित वर्षाबाट फूल जोगाउन माला उनेर चिस्यानयुक्त भण्डारणमा राख्ने तयारीसमेत गरिएको छ।
शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले स्थानीय महिलाको आयआर्जन बढाउन र स्थानीय उत्पादन प्रवर्द्धन गर्न फूलखेतीले सहयोग पुग्ने बताउनुभयो। नगरपालिकाले बिरुवा खरिदमा सहयोग गरेको उल्लेख गर्दै उहाँले खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न तथा बजारीकरण र भण्डारणमा सहजीकरण गर्ने जनाउनुभयो।
नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिलालाई समूह गठन गरेर व्यवस्थित रूपमा खेती गर्न सुझाव दिइएको बताउनुभयो। स्थानीयस्तरमै फूल उत्पादन र बिक्री गर्न सके तिहारमा बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घट्नुका साथै महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्