जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार ०७:०६

एनजीओ र आईएनजीओमार्फत देश कब्जा गरिएको छ : चित्रबहादुर केसी


काठमाडौं, कात्तिक १० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बन्दुकको सट्टा गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत नेपालमाथि प्रभाव बढाइएको दाबी गर्नुभएको छ।

सोमबार अर्घाखाँचीको रानीगैरामा आयोजित पार्टीको कार्यक्रममा उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा अमेरिकी प्रभाव रहेको आरोप लगाउनुभयो। उक्त घटनाका लागि पाँच वर्षअघिदेखि तालिम सञ्चालन गरिएको र तीन अर्ब रुपैयाँभन्दा बढी खर्च भएको उहाँको दाबी थियो।

केसीले अमेरिकी सहयोग परियोजना एमसीसी र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रसङ्ग उल्लेख गर्दै तत्कालीन राजनीतिक दलहरूलाई अमेरिकी दबाबमा सहमत गराउन खोजिएको आरोप लगाउनुभयो। उहाँले जेनजी आन्दोलनपछि अमेरिकी प्रभावमा तयार भएका शक्तिहरू सत्ता र सरकारमा पुगेको दाबीसमेत गर्नुभयो।

सिंहदरबारलगायत राष्ट्रिय सम्पदा र प्रहरी चौकीमा भएको आगजनी तथा तोडफोडबारे बोल्दै उहाँले ती घटनामा विदेशी पक्षको संलग्नता रहेको आरोप लगाउनुभयो। साथै, अर्घाखाँची, रुपन्देही, प्युठान र सुर्खेतमा राष्ट्रिय जनमोर्चाका कार्यालयमा आगजनी भएको उहाँले बताउनुभयो।

देशमा उद्योग–व्यवसायको विकास हुन नसक्दा बेरोजगारी बढेको र शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि युवाहरू विदेशिन बाध्य भएको केसीको भनाइ थियो। उहाँले परनिर्भरमुखी शासनशैलीका कारण देशको अवस्था कमजोर बनेको उल्लेख गर्दै सही राजनीतिक शक्ति पहिचान गर्न नेपाली जनतालाई आग्रह गर्नुभयो।