बुटवल, कात्तिक १० । पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएकी छन्।
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोककी ३७ वर्षीया माया कुँवर रहेकी छन्। सोमबार साँझ करिब ५ः१५ बजे तिनाउ गाउँपालिका–३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको लु १ ख ९२७६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी कुँवरलाई प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सोही स्थानकी ३६ वर्षीया केशरी कुँवर घाइते भएकी छन्। उनको अस्पतालमा उपचार भइरहेको छ।
स्कुटरलाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्