काठमाडौं, कात्तिक १० । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२, १३ र १४ गते भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
प्राधिकरणले नेपालमा मनसुनसम्बन्धी विशेष बुलेटिन जारी गर्दै बंगालको खाडीमा रहेको ‘अनब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यसले आगामी दिनमा मौसममा प्रभाव पार्न सक्ने जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कात्तिक १२ गतेदेखि वर्षाको प्रभाव बढ्ने सम्भावना रहेको छ । विशेषगरी कात्तिक १३ गते शुक्रबार र कात्तिक १४ गते शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
यी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको प्राधिकरणले जनाएको छ ।
सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन तथा पर्वतीय यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणले धानबाली काट्ने, भित्र्याउने तथा कृषि कार्यमा संलग्न व्यक्तिहरूलाई वर्षाको सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी गर्न आग्रह गरेको छ । त्यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अनावश्यक यात्रा नगर्न र आवश्यक परेमा सवारी आवागमन बन्द गर्नसमेत अनुरोध गरेको छ ।
सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन र आवश्यक तयारी अवस्थामा रहन प्राधिकरणले आग्रह गरेको छ ।
त्यसैगरी, जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
मौसमसम्बन्धी थप जानकारीका लागि ११५५, विपद्मा सहयोग आवश्यक परे १२३४, १०० वा ११४४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्