जनता टाइम्स

१० कार्तिक २०८३, मंगलबार ०७:०१

चक्रवात ‘अर्णव’को प्रभावले पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं, कात्तिक १० । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा बिहीबारदेखि भारी वर्षा, हावाहुरी र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश भूभागमा मौसम प्रतिकूल हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक ११ गते भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान छ। त्यसको प्रभाव नेपालमा बिहीबारदेखि देखिने र शुक्रबार तथा शनिबार बढी असर पर्ने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। केही स्थानमा भारी वर्षाको सम्भावना छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान तथा गइसकेकालाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।

सम्भावित वर्षाबाट कृषि क्षेत्रमा क्षति हुन सक्ने भन्दै किसानलाई बिहीबारअघि नै धानबाली भित्र्याउन अनुरोध गरिएको छ। वर्षाका कारण पहिरो जाने, सडक तथा हवाई यातायात अवरुद्ध हुने र चिसो बढ्ने जोखिम रहेकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।