काठमाडौं, कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नुभएको छ भने चितवनको नेतृत्व कुशल मल्लले गर्नुभएको छ। विराटनगरको टोलीमा लोकेश बम, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंका लगायतका खेलाडी छन्। चितवनमा देव खनाल, अर्जुन साउद, रवि बोपारा, सिकन्दर राजा र हसन अली लगायतका खेलाडी छन्।
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्। जनकपुरको कप्तानी हर्मित सिंहले गर्नुभएको छ भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नुभएको छ। जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमद लगायतका खेलाडी छन्। कर्णालीमा डेभिड मिलर, नन्दन यादव, पवन सर्राफ र युवराज खत्री लगायतका खेलाडी छन्।
सोमबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो।
एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। मङ्सिर १ गते पहिलो क्वालिफायर, २ गते इलिमिनेटर, ३ गते दोस्रो क्वालिफायर र ५ गते फाइनल खेल हुनेछ।














प्रतिक्रिया दिनुहोस्