काठमाडौं,१० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका ओपनर ड्यार्सी सर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाउनुभयो। आसिफ शेखले २५ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाउनुभयो। दुवैले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्नुभयो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। उसका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाउनुभयो। साइफ जाइबले १३ र अनिल खरेलले १५ रन बनाउनुभयो।
लुम्बिनीका किशोर महतोले ४ विकेट लिनुभयो भने शेर मल्लले ३ विकेट लिनुभयो। स्याड्ली भान साल्कवाइक र तिलक भण्डारीले एक–एक विकेट लिनुभयो।
प्रधानमन्त्री वालेन्द्र शाहले अम्पायरलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो। त्रिवि क्रिकेट मैदानमा आयोजित उद्घाटन खेलमा नयाँ डिआरएस प्रणाली र अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीको सहभागितासहित प्रतियोगिता सुरु भएको छ। पहिलो इनिङ्समा सुदूरपश्चिमले कम रन बनाएपछि दर्शकको उत्साह केही कम देखिए पनि दोस्रो इनिङ्समा लुम्बिनीले आक्रामक ब्याटिङ गर्दै सहज जित निकाल्यो।














प्रतिक्रिया दिनुहोस्