जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०८:१६

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटनमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै


काठमाडौं, कात्तिक ९ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिताको तयारी पूरा भएको छ। उद्घाटन खेलमा गत संस्करणका फाइनलिस्ट आमनेसामने हुँदैछन्।

हेड टु हेडमा सुदूरपश्चिम अगाडि

हालसम्म भएका तीन भेटमध्ये सुदूरपश्चिमले दुई खेल जितेको छ भने लुम्बिनीले एक खेल जितेको छ। अघिल्लो सिजनको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। त्यसअघि लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई एकपटक ७ विकेट र अर्को पटक ४५ रनले पराजित गरेको थियो।

पछिल्ला पाँच खेलमा लुम्बिनी अपराजित छ। उसले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले, इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले तथा लिग चरणमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई क्रमशः चार र पाँच विकेटले हराएको थियो।

सुदूरपश्चिमले भने पछिल्ला पाँचमध्ये तीन खेल जितेको छ। उसले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले, चितवन राइनोजलाई ४९ रनले र जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो। विराटनगरसँग भने ६ विकेटले हारेको थियो।

दुवै टोलीमा राष्ट्रिय तथा विदेशी खेलाडी

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिममा अविनाश बोहोरा, आरिफ शेख, विनोद भण्डारी, स्कट कुगेलेइन, ब्रान्डन म्याकमुलेन र शेरफन रदरफोर्डलगायत खेलाडी छन्।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीमा सन्दीप जोरा, आसिफ शेख, शेर मल्ल, रुबेन ट्रम्पलम्यान, डार्शी शर्ट र निरोशन डिक्वेलालगायत खेलाडी छन्।