जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०८:१४

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु


काठमाडौं, कात्तिक ९ । कात्तिक स्नान, तुलसीको विशेष पूजा र आकाशदीपदान सोमबारदेखि सुरु भएको छ। आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म यी धार्मिक कार्य गरिने परम्परा छ।

धार्मिक विश्वासअनुसार यस अवधिमा स्नान, तुलसी पूजा र भगवान् विष्णुलाई समर्पित आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति र मनोकामना प्राप्त हुने मान्यता छ। आकाशदीप बाँस वा अन्य काठको लिङ्गो ठड्याएर बाल्ने चलन छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कात्तिक स्नान गर्दा पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। यस अवधिमा मास, मुगी, मुसुरो, चना र भटमासजस्ता दुई दल भएका अन्न खान नहुने शास्त्रीय मान्यता पनि रहेको छ।

कोजाग्रत पूर्णिमा भने आइतबार राति सम्पन्न भएको छ। शास्त्रीय मान्यताअनुसार मध्यरातमा पूर्णिमा परेका दिन कोजाग्रत र सूर्योदय तथा साँझ पूर्णिमा परेका दिन कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा सुरु गरिन्छ।