जनता टाइम्स

९ कार्तिक २०८३, सोमबार ०८:५७

खोटाङमा धारिलो हतियार प्रहार गरी श्रीमतीसहित चारजनालाई घाइते बनाउने पक्राउ 


काठमाडौं, कात्तिक ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चारजना घाइते बनाउने एकजनलाई प्रहरीले पक्राउ गरेकाे छ । 

नेपाल प्रहरीका अनुसार स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा गएर धारिलो हतियार प्रहार गर्दा चारजना घाइते भएका हुन् । घाइते हुनेमा हलेसी तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया अन्जना राई, ६२ वर्षीया स्यामाउन राई, नरेन्द्र राई र २५ वर्षीया तेनिना राई रहेका छन् ।

हतियार प्रहारबाट अन्जनाको टाउकोको पछाडिको भागमा चोट लागेको छ भने उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै, स्यामाउनको टाउको तथा दाहिने हातमा चोट लागेको र उहाँको अवस्था पनि गम्भीर रहेको छ ।

नरेन्द्रको दाहिने हातमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । तेनिनाको टाउकोमा चोट लागेको र उहाँको अवस्था गम्भीर रहेको छ ।

घाइते चारैजनालाई उपचारका लागि नगर अस्पताल दुर्छिममा लगिएको छ । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा नइन्द्रकुमार राईलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।