जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १९:२७

कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा


ललितपुर, कात्तिक ८ । ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण अन्तिम चरणमा पुगेको छ। कुनै अवरोध नआए एक महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको ललितपुर महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनका अनुसार सडक पार गर्ने क्रममा दुर्घटनामा परी १९ जनाले ज्यान गुमाएपछि स्थानीय बासिन्दाको अनुरोधमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण गरिएको हो।

पुलमा हिँड्न सक्ने व्यक्तिका लागि भर्‍याङको व्यवस्था गरिएको छ भने हिँडडुल गर्न कठिनाइ हुने तथा ह्वीलचेयर प्रयोग गर्ने व्यक्तिका लागि पुलको दुवैतर्फ लिफ्ट राखिएको छ।

प्रमुख महर्जनले पुल निर्माणको अनुमानित लागत करिब पाँच करोड २० लाख रुपैयाँ रहेको जानकारी दिनुभयो। आकाशे पुल निर्माणपछि कुसुन्ती क्षेत्रमा सडक पार गर्दा हुने दुर्घटना न्यूनीकरण हुने महानगरपालिकाको अपेक्षा छ।