जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार २०:१३

खगेन्द्र सुनारसँग बयान लिने, अडियोको प्राविधिक परीक्षण गरिने


काठमाडौं, कात्तिक ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग विवादित अडियो प्रकरणमा बयान लिने तयारी भएको छ। सुनारले अडियो आफ्नो नभएको भन्दै लिखित जवाफ दिएपछि त्यसको आधिकारिकता पुष्टि गर्न प्राविधिक परीक्षण गर्नुपर्ने निष्कर्षमा छानबिन समिति पुगेको हो।

असोज २६ गते सार्वजनिक अडियोमा एक महिलालाई गालीगलौज गर्दै पैसा नदिए ज्यान मार्ने धम्की दिइएको सुनिन्छ। सुनारले उक्त आवाज आफ्नो नभएको र अडियो एआई तथा क्यारिकेचरमार्फत तयार पारिएको दाबी गरेका छन्। अडियोमा बोल्ने व्यक्ति आफू नभएको भन्दै पीडित भनिएकी महिलाले पनि सञ्चारमाध्यममा अन्तर्वार्ता दिएकी छन्।

समितिका संयोजक एवं अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार अडियो सार्वजनिक गर्ने जनआस्था मिडियाले सक्कली प्रति उपलब्ध गराइसकेको छ। तर, महिलाको अन्तर्वार्ता लिएको न्युज २४ टेलिभिजनबाट भिडियो प्राप्त हुन बाँकी छ।

समितिले सुनारसँग थप बयान लिएर जवाफका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ। जवाफ चित्तबुझ्दो नभए अडियोको प्राविधिक परीक्षण गरिनेछ। परीक्षण कहिले र कुन निकायबाट गर्ने भन्ने टुंगो भने लागेको छैन।

छानबिन समितिले रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगलाई बुझाउनेछ। त्यसपछि मात्रै सुनारमाथि कारबाही गर्ने वा नगर्ने विषयमा पार्टीले निर्णय लिनेछ। रास्वपाले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन भने पनि निलम्बन गरेको छैन।