जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार २१:२२

सप्तकोशी माेटरबोट दुर्घटना : मृतक तीन मध्ये एकको पहिचान खुल्याे, तीन बेपत्ता


काठमाडौं, कात्तिक ८ । सप्तकोशी नदीमा माेटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा एक महिला, एक बालिका र एक पुरुष रहेका छन्। मृतकमध्ये एक महिलाको पहिचान खुलेको छ।

नेपाल प्रहरीका अनुसार धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा आइतबार दिउँसो पानीबोट दुर्घटना भएको हो। भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको बराहक्षेत्र–चतरातर्फ आउँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी ५२ वर्षीया लिला राईको मृत्यु भएको छ। चतरा अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु भएका अन्दाजी ६–७ वर्षीया बालिका र ४०–५० वर्षीय पुरुषको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा झापाको कन्काई नगरपालिका–४ निवासी सात वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन्। बेपत्ता शिवक निता मगरका छोरा रहेको प्रहरीले जनाएको छ।

बोटमा चालकसहित १५ जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पठाएको थियो। उद्धार गरिएकामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा १४ जना प्रहरी परिचालन गरिएको छ। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेडक्वार्टर धनकुटाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश फुयालको कमान्डमा १६ जनाको टोली खटिएको छ।

बेपत्ता तीन जनाको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।