जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १९:३३

एनपीएलको तयारी ९५ प्रतिशतभन्दा बढी पूरा


काठमाडौं, कात्तिक ८ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारी ९५ प्रतिशतभन्दा बढी पूरा भएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भए पनि प्रतियोगिता निर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुने क्यानले जनाएको छ।

खड्काका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट आधिकारिक स्वीकृति प्राप्त भएकाले प्रतियोगिताको जिम्मेवारी र महत्त्व थप बढेको छ।

यसैबीच, क्यानले खेलाडीको सहभागिताबारे आधिकारिक पुष्टि नगरी अपुष्ट तथा भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। सम्बन्धित टोलीको व्यवस्थापन वा क्यानको आधिकारिक धारणा नलिई खेलाडीबारे समाचार प्रकाशित गर्दा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने भन्दै संघले आधिकारिक जानकारी पुष्टि गरेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेको हो।

एनपीएलको तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ।