जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १७:०६

कांग्रेस महाधिवेशनमा पाखा लगाइयो संघीय संसदका दुईतिहाई सांसद : केन्द्रीय समितिमा १४ जना मात्रै अटाए


काठमाडौं, कात्तिक ८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट १४ जना सांसद केन्द्रीय सदस्यमा निर्वाचित हुँदा १० सांसद पराजित भएका छन ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि असोज २३ गते निर्वाचन चुनाव भएको थियो । सो निर्वाचनको नतिजाअनुसार पदाधिकारीमा ५ सांसदले प्रतिस्पर्धा गरेकोमा केवल एक जना सांसद मात्रै विजयी भएका छन् ।

प्रतिनिधि सभाका सांसद डा.मो. फिरदोश आलम सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो । आलमले अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गरी मुस्लिमतर्फ सहमहामन्त्रीमा जीत निकाल्नु भएको थियो । पदाधिकारीमा प्रतिस्पर्धा गरेका संघ (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का चार जना सांसद भने पराजित भए ।

यसरी पराजीत हुनेमा खुला उपसभापतिमा प्रतिस्पर्धा गर्नुभएका प्रतिनिधि सभा सदस्य प्राडा चन्द्रमोहन यादव, समावेशी उपसभापतिमा प्रतिस्पर्धा गर्नुभएका राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, सहमहामन्त्री (मधेसी) तर्फका प्रतिस्पर्धी प्रतिनिधि सभाका संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र सहमहामन्त्री (पिछडिएको क्षेत्र) तर्फका प्रतिस्पर्धी सांसद जनकराज गिरी हुनुहुन्छ ।

उपसभापतिमा प्रतिस्पर्धी प्राडा चन्द्रमोहन यादव सो क्लस्टरमा २ पदका लागि भएको निर्वाचनमा ७ जनाबीच प्रतिस्पर्धा भएको थियो । जस्मा डा. चन्द्र भण्डारी र ईं. मधु आचार्य निर्वाचित हुँदा प्राडा. यादव, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ र दीपक गिरी पराजित हुनुभयो । रोचक पक्ष त के भने गणतन्त्र नेपालकै संस्थापक राष्ट्रपति डा. रामबरण यादवका पुत्र चन्द्रमोहनको सबैभन्दा कम मत आयो ।

समावेशी उपसभापतिमा प्रतिस्पर्धा गर्नुभएका राष्ट्रिय सभा सदस्य कर्णसहित ५ जना उम्मेदवार हुनुहुन्थ्यो । परिणाम आउँदा सबैभन्दा कम मत कर्णकै आयो भने उद्योगपति विनोद चौधरी निर्वाचित हुनुभयो । सो पदमा पदमा जीवन परियार, फरमुल्लाह मन्सुर र सीता गुरुङ प्रतिस्पर्धामा उत्रनुभएको थियो ।

यस्तै प्रतिनिधि सभाका संसदीय दलका उपनेता अभिषेक प्रताप शाह सहमहामन्त्री (मधेसी) तर्फ पराजित हुनुभयो । प्रतिनिधि सभाकै अर्का सांसद जनकराज गिरी सहमहामन्त्री (पिछडिएको क्षेत्र) तर्फ पराजित हुनुभएको छ ।

उपनेता हार्दा प्रतिनिधि सभाकी प्रमुख सचेतक वासना थापाले भने महिलातर्फ खुला क्लस्टरबाट सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित हुनुभयो । प्रतिनिधि सभाका सचेतक निश्कल राई प्रत्यक्ष खुलामा, उर्मिला थपलिया (सिता) महिला खुला क्लस्टरबाट, ई. मोहन आचार्य प्रत्यक्ष खुला, सन्दीप राना प्रत्यक्ष खुला, नरेन्द्रकुमार केरुङ प्रत्यक्ष खुला, प्रकाश सिंह कार्की प्रत्यक्ष खुलामा केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।

त्यस्तै डा. गंगादेवी अवाल आदिवासी जनजाति महिला, रेनुका काउचा आदिवासी जनजाति महिला, रेखाकुमारी यादव मधेसी महिला र डा. प्रमिलाकुमारी गच्छदार थारु महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । यस्तै राष्ट्रिय सभाका सदस्यद्वय धमेन्द्र पासवान दलित मधेसी क्लस्टरबाट र किरणबाबु श्रेष्ठ गण्डकी प्रदेश खुला क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभयो ।

निर्वाचनमा राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा महिला खुला सदस्यमा पराजित हुनुभयो । यस्तै प्रतिनिधि सभा सदस्यहरू खडकबहादुर बुढा, गीता कुमारी सेन्दाङ, मनमाया विश्वकर्मा, पवित्रा बिक र कालीबहादुर सहकारी केन्द्रीय सदस्यमा पराजीत हुनुभएको छ ।

कांग्रेसका प्रतिनिधि सभामा ३८ र राष्ट्रिय सभामा २४ गरी ६२ जना सांसद छन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेसहित बरिष्ठ नेता अर्जुननरसिंह केसी, भरतबहादुर खड्का, गीता गुरुङलगायतका सांसदहरू भने उम्मेद्वार नै बन्नुभएन । त्यस्तै राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त पनि उम्मेद्वार बन्नुभएन ।