जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १६:३०

सप्तकोशीमा जेटबोट दुर्घटना : तीन जनाको मृत्यु, एक घाइते


काठमाडौं, कात्तिक ८ । भोजपुरबाट चतरातर्फ आउँदै गरेको माेटरबाेट सप्तकोशी नदीमा दुर्घटना हुँदा बालिकासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र पहिचानका लागि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो।

प्रहरीका अनुसार अरुण र दूधकोशीको त्रिवेणी क्षेत्रनजिक जेटबोटको इञ्जिनमा खराबी आएको थियो। इञ्जिन फेल भएपछि नदीमा बग्ने क्रममा जेटबोट दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाग्रस्त बोटमा १६ जना सवार रहेको बताइएको छ। तर, तीमध्ये १२ जनाले मात्रै टिकट काटेको खुलेको प्रहरीको भनाइ छ। दुर्घटनापछि पाँच जना सकुशल घर फर्किसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनुभएका एक जनाको चतरा अस्पतालमा उपचार भइरहेको छ। बोटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप विवरण संकलन गर्ने, मृतकहरूको पहिचान खुलाउने तथा दुर्घटनाको कारण पत्ता लगाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।