जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार १५:५५

मानव सेवा घरको निरीक्षणमा मुख्यमन्त्री किरण थापा, असहाय बालबालिकाको हेरचाह र संरक्षण सबैको दायित्व


काभ्रे, कात्तिक ८ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५, लमलेस्थित मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले मानव सेवा घरको अवस्था, सञ्चालन प्रक्रिया तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह, संरक्षण र सेवा व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। उहाँले घरबारविहीन, असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूलाई आश्रय प्रदान गर्दै मानव सेवामा समर्पित संस्थाको भूमिकाको प्रशंसा गर्नुभयो। अशक्त, असहाय तथा बेसहारा व्यक्तिहरूको सहारा बनेर मानव सेवा घरले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले परिस्थितिले कठिनाइमा पारेका बालबालिकाको संरक्षण र भविष्य निर्माणमा यस्ता संस्थाको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो।

‘आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन्’ भन्दै उहाँले सबै बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु, उनीहरूलाई उचित हेरचाह र संरक्षण प्रदान गर्नु तथा सुरक्षित भविष्य निर्माणका लागि अवसर उपलब्ध गराउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो।

स्थलगत निरीक्षणका क्रममा मानव सेवा घरको वास्तविक अवस्था बुझ्ने तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह र सेवा व्यवस्थापनबारे जानकारी लिने अवसर प्राप्त भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले संस्थामा सेवा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

सो क्रममा मुख्यमन्त्री थापाले घरबारविहीन, असहाय, टुहुरा तथा सडकबाट उद्धार गरी ल्याइएका बालबालिकासँग भेटघाट गर्नुभएको थियो। उहाँले बालबालिकालाई टीका र जमरा लगाइदिँदै विजयादशमीको शुभकामना आदानप्रदान गर्नुभयो।

‘हुनेबाट सहयोग, नहुनेलाई उपयोग’ भन्ने मूल नारालाई आत्मसात् गर्दै समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकासँग दसैँको खुसी साटासाट गर्न पाउँदा अत्यन्तै आत्मीय र भावुक अनुभूति भएको मुख्यमन्त्री थापाले बताउनुभयो।

मानव सेवा घरजस्ता संस्थाले कठिन परिस्थितिमा रहेका बालबालिकालाई आश्रय, माया, संरक्षण र उज्ज्वल भविष्यको आशा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले बालबालिकाको अधिकार, सम्मान र आधारभूत आवश्यकताको सुनिश्चितताका लागि समाजका सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयाे । 

मुख्यमन्त्री थापाको निरीक्षण तथा बालबालिकासँगको दसैँ शुभकामना आदानप्रदानले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र असहाय बालबालिकाको संरक्षणप्रति सामूहिक प्रतिबद्धताको महत्त्वलाई  जगाएकाे छ ।