रामेछाप, कात्तिक ८ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिमार्फत नेपाललाई आर्थिक, सामाजिक तथा वातावरणीय हिसाबले समुन्नत राष्ट्र बनाउन सकिने बताउनुभएको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपालको समृद्धिको प्रमुख आधार जलस्रोत, विद्युत् उत्पादन र हरित अर्थतन्त्र भएको धारणा राख्नुभयो । ‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले वातावरण मात्र होइन, आर्थिक र सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि र सामाजिक न्याय गरी तीन ‘स’ को नीतिका साथ अघि बढेको बताउनुभयो । सुशासन र सामाजिक न्यायलाई आधार बनाएर देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सकिने उहाँको भनाइ थियो ।
उहाँले आफ्नाे पार्टीको सरकार बनेमा पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य सेवा निःशुल्क बनाउने योजना रहेको बताउनुभयो । त्यस्तै, प्रत्येक नेपालीलाई २०० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउन सकिने उहाँले दाबी गर्नुभयो ।
नेपाली नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले विद्युत् आयोजनाको शेयर निःशुल्क उपलब्ध गराउने योजना पनि पार्टीसँग रहेको उहाँले जानकारी दिनुभयो । नेपालमै बस्ने नागरिकलाई कम्तीमा एक हजार कित्ता र विदेशमा रोजगारी गरी रेमिट्यान्स पठाउने नागरिकलाई कम्तीमा दुई हजार कित्ता शेयर दिन सकिने उहाँको भनाइ थियो । ‘नेपालमा बस्नेलाई एक हजार कित्ता र विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेलाई कम्तीमा दुई हजार कित्ता शेयर दिन सक्छौँ, जसले पछि उनीहरूलाई पेन्सनको रूपमा काम गर्छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष घिसिङले नेपालको जलविद्युत् उत्पादन क्षमता उपयोग गर्न सके देशको अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताउनुभयो । आफूले भारत र बङ्गलादेशमा विद्युत् बिक्री गर्ने वातावरण बनाउन भूमिका खेलेको उल्लेख गर्दै उहाँले आगामी २० वर्षमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने धारणा राख्नुभयो ।
उत्पादित विद्युत मध्ये ३० हजार मेगावाट भारत र बङ्गलादेशमा बिक्री गर्न सके नेपालले वार्षिक २० देखि ३० खर्ब रुपैयाँसम्म आम्दानी गर्न सक्ने उहाँको दाबी थियो । ग्यास र तेलको सट्टा विद्युत्को प्रयोग बढाउन सके इन्धन आयातमा विदेशिने ठूलो धनराशि स्वदेशमै जोगाउन सकिने उहाँले बताउनुभयो ।
नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको सम्भावना पनि बढिरहेको उल्लेख गर्दै उहाँले यसको प्रयोगबाट गाडी, जहाज तथा पानीजहाज सञ्चालन गर्न सकिने बताउनुभयो । ग्रिन हाइड्रोजनको प्रयोगबाट युरिया मल उत्पादन गर्नसमेत सकिने उहाँको भनाइ थियो ।
नेपालको पानीलाई समृद्धिको प्रमुख स्रोतका रूपमा व्याख्या गर्दै अध्यक्ष घिसिङले जलस्रोतको उपयोगबाट देशको आर्थिक विकासलाई गति दिन सकिने बताउनुभयो । उहाँले कृषि तथा ग्रिन पर्यटनको विकासमा पनि पानीको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।
त्यसैगरी, नेपाली युवालाई डिजिटल अर्थतन्त्रमा सहभागी गराई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले उज्यालो नेपाल पार्टी स्थापना गरिएको उहाँले बताउनुभयो । युवाको सीप र प्रविधिको उपयोग गर्दै देशलाई समृद्ध बनाउने पार्टीको लक्ष्य रहेको उहाँको भनाइ थियो ।
कार्यकर्ता भेलाले टेण्डि शेर्पाको अध्यक्षतामा १९ सदस्यीय उज्यालो नेपाल पार्टीको उमाकुण्ड गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरेको छ । समितिको सचिवमा हेमराज तामाङ चयन हुनुभएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामकृष्ण लामा, दीपबहादुर योञ्जन, जिल्ला अध्यक्ष चिना लामा, सचिव मोतीलाल घिसिङ, प्रदेश कमिटीका सदस्य तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्