जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार ०७:२५

स्वर्णिम वाग्लेलाई राजन भट्टराईको प्रश्न : नेपालको हितमा बोल्नु भारतविरोध हो ?


काठमाडौं, कात्तिक ८ । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नेपालको राष्ट्रिय हितका विषय उठाउँदा भारतविरोधी वा उग्र राष्ट्रवादीको संज्ञा दिने प्रवृत्तिमाथि प्रश्न उठाउनुभएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै भट्टराईले नेपालको हितमा बोल्नु भारतको विरोध गर्नु हो भन्दै प्रश्न गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै भट्टराईले नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय उठाउनेहरूलाई लामो समयदेखि ‘उग्र राष्ट्रवादी’ वा ‘भारतविरोधी’ भन्ने भाष्य बनाइएको टिप्पणी गर्नुभएको छ । नयाँदिल्लीमा बसेर नेपालबारे बोल्नेहरूले लगाउने गरेको आरोप अहिले नेपालबाटै त्यही भाष्य दोहोर्‍याउनेहरूले पनि लगाउन थालेको उहाँको भनाइ छ ।

भट्टराईले नेपालको दक्षिणी सीमामा भारतले संरचना निर्माण गर्दा वर्षायाममा नेपाली भूभाग डुबानमा पर्ने विषय उठाउनु भारतविरोध हो भन्दै प्रश्न गर्नुभएको छ । त्यस्तै, अलैँची, चिया र जुटलगायत नेपाली कृषिजन्य उत्पादन द्विपक्षीय सहमतिअनुसार भारतीय बजारमा निर्बाध निकासी हुनुपर्ने माग गर्नु राष्ट्रिय हितको पक्षमा बोल्नु भएको उहाँले उल्लेख गर्नुभएको छ ।

नेपाल–भारत विद्युत् व्यापारसम्बन्धी सहमतिअनुसार नेपालमा उत्पादित बिजुली भारतले निर्बाध रूपमा खरिद गर्ने वातावरण बनाउनुपर्ने विषय उठाउँदा भारतविरोधी ठहरिने हो भन्दै उहाँले प्रश्न गर्नुभएको छ । भारतले आफूले रोजेको लगानीकर्ताबाट उत्पादित बिजुली मात्र खरिद गर्ने अडान सम्झौताअनुरूप नभएको भन्न नपाइने हो र भन्ने उहाँको प्रश्न छ ।

नेपाल र भारतबीच विगतमा भएका कतिपय सन्धि–सम्झौता असमान र केही सान्दर्भिक नरहेको उल्लेख गर्दै भट्टराईले तिनको पुनरावलोकन गरी पारस्परिक समानताका आधारमा समयअनुकूल अद्यावधिक गर्नुपर्ने बताउनुभएको छ ।

सन् १८१६ को सुगौली सन्धिअनुसार नेपालको भूभाग नेपालकै हो भन्ने दाबी गर्नु पनि भारतविरोध ठहरिने हो भन्दै उहाँले प्रश्न गर्नुभएको छ । अन्तर्राष्ट्रिय कानुन, मूल्य, मान्यता र अभ्यासका आधारमा दुई स्वतन्त्र तथा सार्वभौम मुलुकबीच सम्बन्ध अघि बढाउनुपर्ने र आफ्ना राष्ट्रिय मामिलामा निर्णय गर्ने अधिकार नेपालमै हुनुपर्ने उहाँको धारणा छ ।

भट्टराईले अन्य देशमा राष्ट्रिय हितका पक्षमा बोल्ने व्यक्तिलाई देशभक्तिपूर्ण अभिव्यक्ति दिने व्यक्तिका रूपमा लिइने गरे पनि नेपालमा त्यस्ता आवाजलाई भारतविरोधीको संज्ञा दिने गरिएको टिप्पणी गर्नुभएको छ । अर्थमन्त्री वाग्लेको हालैको दिल्ली अभिव्यक्तिलाई पनि उहाँले यही प्रवृत्तिको एउटा उदाहरणका रूपमा व्याख्या गर्नुभएको छ ।