जनता टाइम्स

८ कार्तिक २०८३, आइतबार ०७:११

चन्द्रौटाको सराय नाचमा धार्मिक सद्भावको उदाहरण


कपिलवस्तु, कात्तिक ८ । कपिलवस्तुको चन्द्रौटामा दशैँको सराय नाचका क्रममा मुस्लिम समुदायका युवाले समेत सहयोग र सहभागिता जनाएर धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेका छन् ।

शिवराज नगरपालिका–५ चन्द्रौटामा शनिबार आयोजित सराय जात्रामा मुस्लिम समुदायका युवाले सहभागीलाई निःशुल्क खानेपानी र मिठाई वितरण गरेका थिए । स्थानीय अगुवाहरूले यसले आपसी भाइचारा र सामाजिक एकताको सन्देश दिएको बताएका छन् ।

विगत १९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सराय जात्रा चन्द्रौटाको सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ । २०६४ सालमा चन्द्रौटामा भएको हिंसात्मक घटनापछि आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्ने उद्देश्यले जात्रा सुरु गरिएको थियो ।

यस वर्ष पनि पञ्चेबाजाको धुनमा तरबार र खुँडा नचाउँदै सहभागीले उत्साहपूर्वक सराय नाच प्रदर्शन गरेका थिए । शिवराज नगरपालिका–५ स्थित कणेश्वरी मन्दिरबाट सुरु भएको जात्रा चन्द्रौटा बजार परिक्रमा गर्दै दुर्गा मन्दिरमा पुगेर समापन गरिएको थियो ।

जात्रामा स्थानीय बासिन्दासहित विभिन्न क्षेत्रबाट आएका सर्वसाधारणको सहभागिता थियो । चन्द्रौटा चोकमा मुस्लिम समाज शिवराजले सहभागीलाई निःशुल्क खानेपानी र मिठाई वितरण गरेको थियो ।

दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कमला पाण्डेले सराय जात्रा संस्कृति संरक्षण, प्रवर्द्धन र धार्मिक सद्भावको प्रतीक भएको बताउनुभयो ।

पछिल्लो समय अर्घाखाँची र गुल्मीलगायत जिल्लाबाट बसाइँ सरेर चन्द्रौटा पुगेका परिवारले पनि सराय जात्रालाई उत्सवका रूपमा मनाउँदै आएका छन् ।