काठमाडौं, कात्तिक ८ । नेकपा एमालेका प्रचारप्रसार विभाग प्रमुख निरज आचार्यले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा नेपालको राष्ट्रवादबारे दिएको अभिव्यक्तिको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाउनुभएको छ ।
भारतविरोधी भावनासँग जोडिएको नेपालको राष्ट्रवादको पुरानो भाष्य समाप्त भएको वाग्लेको अभिव्यक्तिप्रति टिप्पणी गर्दै आचार्यले राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा पनि राष्ट्रवादका अभिन्न अंग भएको बताउनुभएको छ ।
नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, विश्वास र साझा हितका आधारमा अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै आचार्यले भारतसँगको सम्बन्ध सुदृढ बनाउने नाममा राष्ट्रिय हित र स्वाभिमानसँग सम्बन्धित प्रश्नलाई गौण बनाउन नहुने उल्लेख गर्नुभएको छ ।
‘मित्रराष्ट्रसँग असहमति राख्दैमा सम्बन्ध बिग्रन्छ भन्ने सोच र सम्बन्ध सुधार्ने नाममा सबै असहमतिलाई पन्छ्याएर “तुम शरणम्” गर्ने धारणा दुवै अतिवादी सोच हुन्,’ उहाँले लेख्नुभएको छ ।
भारतसँग व्यापार, पारवहन, ऊर्जा, लगानी र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आचार्यले सीमा विवादलगायत द्विपक्षीय सरोकारका विषयमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्