जनता टाइम्स

२ कार्तिक २०८३, सोमबार १२:५७

युरोपका ६ देशमा प्रदर्शन चर्कियो, इटालीमा विद्यालय कब्जा र ग्रिसमा संसद्‌अघि धर्ना


काठमाडौं, कात्तिक २ । बढ्दो शैक्षिक खर्च, बेरोजगारी, महँगो आवास र शिक्षा क्षेत्रमा सरकारी लगानीको विरोधमा युरोपका ६ देशमा प्रदर्शन चर्किएको छ। फ्रान्स, इटाली, स्पेन, ग्रिस, बेल्जियम र अल्बानियामा विद्यार्थी तथा विभिन्न समूहले प्रदर्शन गरेका छन्।

फ्रान्समा विद्यालयको जीर्ण अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध १४० सहरमा प्रदर्शन भएको समाचारमा उल्लेख छ। करिब ८ लाख मानिस सहभागी भएको दाबी गरिएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना भएका छन्। १८ अक्टोबरसम्म करिब १ हजार ८ सय जना पक्राउ परेको विवरण सार्वजनिक भएको छ।

इटालीमा विद्यार्थीहरूले शिक्षामा सरकारी लगानी बढाउन, जीर्ण विद्यालय सुधार गर्न र शैक्षिक खर्च घटाउन माग गर्दै रोम र ट्युरिनसहित विभिन्न सहरका विद्यालयमा कब्जा जमाएका छन्। उनीहरूले ३० अक्टोबरमा राष्ट्रव्यापी हड्ताल गर्ने घोषणा गरेका छन्।

स्पेनमा महँगो घरभाडा र आवास अभावविरुद्ध प्रदर्शन भइरहेको छ। राजधानी म्याड्रिडसहित विभिन्न सहरमा प्रदर्शनकारीले भाडा नियन्त्रण, घरबाट निकाल्ने कार्य रोक्न र सस्तो सरकारी आवास निर्माण गर्न माग गरेका छन्।

ग्रिसको राजधानी एथेन्समा विद्यार्थीहरूले होस्टेल अभाव, बढ्दो भाडा र अध्ययन खर्चको विरोधमा संसद्‌अघि टेन्ट टाँगेर धर्ना दिएका छन्। उनीहरूले सरकारी होस्टेल निर्माण, छात्रवृत्ति वृद्धि र विश्वविद्यालयको बजेट बढाउन माग गरेका छन्।

बेल्जियमको राजधानी ब्रसेल्समा शिक्षा बजेट कटौतीविरुद्ध भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको विवरणमा उल्लेख छ। प्रदर्शनका क्रममा १५० जना पक्राउ परेको समाचारमा जनाइएको छ।

अल्बानियाको राजधानी तिरानामा विद्यार्थी तथा युवाले महँगो शिक्षा, बेरोजगारी, भ्रष्टाचार र विश्वविद्यालयको कमजोर अवस्थाविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले प्रधानमन्त्री एडी रामाको राजीनामा माग गरेका छन्। प्रदर्शनका क्रममा ढुङ्गामुढा, तोडफोड र आगजनीका घटना भएको विवरण सार्वजनिक भएको छ।

छ देशमा देखिएको प्रदर्शनमा शिक्षा क्षेत्रको अवस्था सुधार, सरकारी लगानी वृद्धि, सस्तो आवास र रोजगारीका अवसर विस्तार प्रमुख मागका रूपमा उठेका छन्।