काठमाडौं, असोज २८ । दसैँमा हवाई टिकट नपाएपछि कञ्चनपुरका भक्तराज भट्ट साढे १३ लाख रुपैयाँ खर्चेर हेलिकप्टर चार्टर गरी महेन्द्रनगर पुग्नुभएको छ।
एक दशकदेखि बेलायतमा बस्दै आउनुभएका भीमदत्त नगरपालिका–६, ऐठपुरका भट्ट मंगलबार सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर काठमाडौंमा महेन्द्रनगर पुग्नुभएको हो।
उहाँकी आमा बिरामी भएकाले छिटो घर पुग्न चाहनुभएको थियो। तर, काठमाडौं–धनगढीको नियमित उडानमा टिकट नपाएपछि हेलिकप्टर चार्टर गर्ने निर्णय गर्नुभएको उहाँकी भाञ्जी सहाना भट्टले जानकारी दिनुभयो।
सहानाका अनुसार हेलिकप्टरमा भक्तराजसहित चार जना महेन्द्रनगर पुगेका थिए। काठमाडौं–महेन्द्रनगर हेलिकप्टर चार्टर गर्न साढे १३ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो।
हेलिकप्टरमार्फत घर पुगेका भट्टलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए। उहाँको आगमनको भिडियो अहिले सामाजिक सञ्जालमा समेत चर्चामा छ।
दसैँ नजिकिएसँगै हवाई यात्रुको चाप बढ्दा नियमित उडानको टिकट पाउन कठिन भइरहेको छ। यही अवस्थामा आमाको स्वास्थ्य अवस्थाका कारण हतारिनुभएका भट्टले महँगो विकल्प रोज्नुभएको हो।














प्रतिक्रिया दिनुहोस्