जनता टाइम्स

२७ आश्विन २०८३, मंगलवार १९:५३

राजमार्गका होटलको खानाले यात्रु बिरामी भए चालक र सञ्चालकलाई कारबाही


काठमाडौं, असोज २७ । राजमार्गका होटल तथा रेस्टुरेन्टमा खाएको खानाका कारण यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ।

यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध हुने होटल तथा रेस्टुरेन्टमा मात्रै सवारी रोक्न निर्देशन दिएको हो।

सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छता स्टिकर टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन विभागले आग्रह गरेको छ।

राजमार्गका होटलमा उपलब्ध खाजा, नास्ता तथा खाना न्यून गुणस्तरको हुँदा यात्रु बिरामी भएको गुनासो आएपछि सरकारले निगरानी बढाएको विभागले जनाएको छ। खानाका कारण यात्रु बिरामी भएको पाइए सम्बन्धित चालक र होटल सञ्चालकलाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागको चेतावनी छ।

होटलमा खानाको स्वच्छता र गुणस्तरमा कमी वा मूल्यमा ठगी भएको पाइए यात्रुले नेपाल प्रहरीको हेल्पलाइन १०० मा फोन गरेर उजुरी गर्न सक्नेछन्। त्यस्तै, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पनि जानकारी गराउन सकिनेछ।